एमसिसीबारे नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह

Posted on: 20 Feb, 2022

फागुन ८, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताउनुभयो । सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भन्नुभयो, “एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।” 

उहाँले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । उहाँले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभयो । “बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसिसीको प्रक्रिया अघि बढेको हो”, शर्माले भन्नुभयो, “प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन ? रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ ?”

उहाँले देशको समृद्धि र विकास लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि जीवनभर सङ्घर्ष गर्नुभएका सिके प्रसाईंले पञ्चायती शासनमा लामो समय निर्वाशनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा पर्नुभएको थियो । समाजवादी विचारकको रूपमा रहनुभएका सिकेले आफ्नो जीवनकालमा लेख्नुभएका विचारलाई समेटेर ‘आजको सरल राजनीति र सिकेका विचार’ नामक कृति प्रकाशन भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!