जाजरकोट मौरी र सुन्तला जोनको लागि सिफारिस

Posted on: 21 Feb, 2021

फागुन ९, जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको छ । 

नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, सातै वटा स्थानीय तहका कृषि शाखा र जिल्लाका सरोकारवाला निकायसँग व्यापक छलफल गरी नयाँ सूची बनाएर गृहकार्यमा लागेको परियोजनाका प्रमुख पिताम्बर बस्नेतले बताए । नयाँ सिफारिस गरिएका सूची जाजरकोटमा अत्यधिक मात्रामा सम्भावना भएको मध्येमा पर्दछ । 

यसअघि सञ्चालनमा रहेका मौरी र सुन्तला जोनले व्यापकरूपमा जनताको मन जितेपछि नयाँ सूचीकरण गरी प्रस्ताव गरिएको हो । सम्भावना हुँदाहुँदै आवश्यक सहयोगको अभावमा कृषकले समस्या भोगेको गुनासो आएसँगै नयाँ सूची निर्माण गरि काम गर्न लागिएको जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले जानकारी दिए । अहिले जाजरकोटको मह नेपाल मात्र नभएर विश्वका धेरै मुलुकमा निर्यात हुनेगरेको छ ।

त्यस्तै जाजरकोटमा उत्पादन हुने महका विषयमा अध्ययनका लागि विदेशबाट अनुसन्धाता पुगेका छन् । सरकारको १० वर्षे कार्यक्रमभित्र जाजरकोटले आर्थिकरूपमा धेरै फाइदा लिन सक्ने अपेक्षा लिइएको छ ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!