पहिरोले साँफे–मार्तडी सडक बन्द

Posted on: 08 Jul, 2020

असार २४, मार्तडी। जिल्लामा लगातारको अविरल वर्षाका कारण साँफे–मार्तडी  राजमार्ग सडकको ठाउँ ठाउँमा पहिरो आएपछि आज बिहानदेखि आवतजावत बन्द भएको छ । सडकको माथिबाट पहिरो बग्ने र तलबाट भासिन थालेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । बूढीगङ्गा नगरपालिकाको अम्कोट र द्वारीमा नदीले कटान गर्न थालेपछि सडक भासिदै गएको छ । सडक भासिएपछि फाटफुट चल्ने सवारीसाधन समेत ठप्प भएका छन् । 

सडकको पानीनाउला, तिपाडा, ओलेनामा माथिबाट पहिरो बग्न थालेकोले छ । मङ्गलबार राति आएको अविरल वर्षाका कारण ंपानीनाउलामा पहिरो गएपछि आज बिहानबाट यातायातका साधन आशिंक रुपमा चलेका छन् । पानीनाउलामा आएको पहिरो पन्छ््याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । सडक अवरुद्ध बनेपछि खुलाउने प्रयास भइरहेको भए पनि माथिबाट पहिरो खस्ने भएकाले  समस्या भएको छ । ठाउँ ठाउँमा पहिरो गएको छ ।  आवतजावतमा समेत निकै समस्या भएको स्थानीयवासी सुशील थापाले बताउनुभयो ।

सडक जोखिममा हुँदा सदरमुकाम मार्तडी, बाजुराको उत्तरी क्षेत्र हुम्ला र मुगुको आगमनमा समस्या हुने भएको छ । गत वर्षको वर्षायाममा सडक अवरुद्धले यस क्षेत्रमा दैनिक उपभोग्य सामान र औषधिको अभाव हुने गरेको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!