‘मतदाताले दिने भोट नै जनआधार हो’

Posted on: 26 Apr, 2017

स्थानीय निर्वाचनमा महिलाहरु उत्साहित देखिएका छन् । चुनावले पछिल्लो राजनीतिक वृत्तमा महिलाहरुलाई उत्पेरणा जगाईरहेको बेला जनाधार बलियो भएका पार्टी र उम्मेदवारहरु कस्साकस्सी गरेर लागेका छन् यसैबीच कुश्मा नगरपालिकाकी उपमेयर पदका दाबेदार माओवादी केन्द्र पर्वतकी महिला नेतृ तारादेवी रिजाल शर्मासँग को विशेष कुराकानी ।

माकेको तर्फबाट कुश्मा नगरपालिकाको उपमेयर पदको टिकट पाउनु भो तपाईले जित्ने आधार के के छन् ?

– सर्वप्रथम त हाम्रो पार्टी माओवादी केन्द्रको प्रथम एजेण्डा नै जित्ने आधार हो । म जनआन्दोलनको घाईते परिवारको श्रीमति हुँ । ०६२/०६३ को जनआन्दोलन तात्कालीन राजाले परिचालन गरेको बन्दुकको नालमा जोखिम मोलिरहेको थियो । सोही बेला गणतन्त्र प्राप्तीका लागि मेरो श्रीमानले गोली खानुभएको छ । अब भन्नुहोस्, ज्यान अर्पण गर्न जनआन्दोलनमा होमिएको परिवारले नजिते कस्ले जित्ने ? यहि हो मेरो चुनाव जित्ने मुख्य आधार । तात्कालिन नेकपा माओवादीले महान जनयुद्वको थालनी ग¥यो । यो आम नेपाली र विश्व समुदायलाई थाहा भएको कुरा हो । कटुवा चौपारीमा जनयुद्वको जग बसाल्नका लागि हाम्रो घरपरिवारले तात्कालिन राज्यपक्षको दमनलाई सहेको छ । दमनको विरुद्धमा उत्रिएको छ । आफ्नै आँखाले राज्य पक्षको बर्बर काण्डा देखेको छ । रामचन्द्र अधिकारी, राम अधिकारी, विजय सुवेदी दिपक परियार जस्ता हजारौं शहिदहरुको रगतमा राज्य पक्षले होली खेल्दा राज्य पक्षको विरुद्धमा उत्रिएको परिवारले बहुमतले नजिते कस्ले जित्ने ?

एजेण्डा र त्याग जति नै राम्रो भए पनि जनआधार त कम्जोर छ नि ?

– मतदाताले दिने भोट नै जनआधार हो भनेर बुझ्नुस् । अब कुरा यो छ कि परिवर्तन के ले भयो ? जनआधारले होईन । भू–उपग्रहबाट जनता ल्याएर महान दशबर्षे जनयुद्व, ०६२÷०६३ को जनआन्दोलन गरिएको त होईन नि । त्यही जनाआधार हो जस्ले राम्रो एजेण्डा छान्यो, वलिदान र त्यागको मुल्याँकन ग¥यो । गणतन्त्र सम्मको परिवर्तन सम्भव भयो । अब स्थानीय निकायको चुनावमा पनि यहि जनआधार, यहि कारणले मेरो पक्षमा उर्लिन्छ । तात्कालिन राजाको अवशान कसरी भयो भन्ने कुरा पनि आमलाई थाहा छ । र माओवादी ईतरका दलहरु जति छन् उहाँहरुका एजेण्डा जति नै सर्वसुलभ देखिएपनि उहाँहरुको साेंच प्रतिगामी, पश्चगामी र परिर्वतनलाई आत्मसाथ गर्न वाध्यता भएको तर पछाडी पार्ने खालको सोंच भएकोले मैले चुनाव जित्छु र जित्नै पर्छ ।

तपाईको पार्टी पनि संसदवादमा फस्यो, अन्य पार्टी र तपाईको पार्टीमा फरक त छैननी ?

हाम्रो पार्टी नितान्त फरक छ । हाम्रो पार्टी र हाम्रो पार्टीले उठाउने उम्मेदवारहरु मुक्ति या मृत्युको कसममा बाँधिएका छन् । पार्टी संसदवादमा फसेको भन्ने कुरा चित्त नबुझेकाहरुले लगाउने आरोप हो । किनभने गणतन्त्रको संस्थागत विकास, दुई छिमेकी देशको चपेटामा रहेको देश । यो देशको विकास उत्थान र उन्नतिका लागि आफु लिट्टे बनेर लडाईमा मात्र होमिएको भए गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी कसरी सम्भव थियो ? हो त्यही विषयलाई संस्थागत गर्न हाम्रो पार्टी संसदवादमा फसेको जस्तो देखिएको हो । हामी प्रष्ट छौ हामीले विगत देखी उठाएका नाराहरु स्पष्ट पुरा नभए दिर्घकालिन जनयुद्व र मालेमा वादी विचार सिद्धान्तबाट फरक छैनौं, त्यसैकारणले पर्वतमा मात्र होईन देशैभर माओवादी केन्द्रलाई विजयी गराउन जनताले त्याग गर्नैपर्छ हामीले त्यो त्यागको पनि मुल्याँकन गर्नुपर्दछ । अन्य पार्टी आजका संसदवादी होईनन् हिजैका हुन । हामी प्राप्ती भएका एजेण्डालाई संस्थागत गरेर जाउँ भन्दा संसदवादी देखिएका हौं । क्रान्तिबाट विचलन होईनौं ।

–के के छन् चुनावी मैदानमा भिड्ने तपाईका स्थानीय एजेण्डाहरु ?

मुख्य त हाम्रो पार्टी माओवादी केन्द्रको एजेण्डा नै देश र जिल्लाको परिवर्तनको लागि वैज्ञानिक एजेण्डा हो । समाजमा व्याप्त महिला हिंसाको अन्त्य, वर्षौदेखि जकडिदै आएको छुवाछुत प्रथाको अन्त्य, जिल्लाको पर्यटकीय विकास, आर्थिक सम्वृद्धि, नगरपालिकामा रिङरोड शुद्ध खानेपानीको पहुँच, दलित तथा उत्पीडित जातजातीहरुको उत्थान, कृषीपकेट जोन, सुपरजोन र बजार व्यवस्थापन, नगरपालिकाका हरेक वडाहरुमा साना तथा मझौला उद्योगहरुको विकास, शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, वडा वडामा एम्बुलेन्सको व्यवस्था, धौलागिरीकै सबैभन्दा ठूलो खेलमैदानको निर्माण, वडा वडामा पिसपार्क निर्माणका साथै महङो भैरहेको न्यायमा स्वास्थ्य र सुलभ ढंगले समान न्यायिक पहुँच, कालिगण्डकी करिडोर, कालिगण्डकी हाई वे कुश्मानगरपालिकामा छुने गरी सडक विस्तार, कुश्मा–पोखरा जोड्ने सुरुङमार्ग निर्माण, कुश्मा सिटी हल निर्माणसँगै सम्पन्न गर्ने, पशुपालन व्यवसायलाई वृद्धि र विकास, कुश्मा–ज्ञादी जोड्ने पक्कि पुल निर्माण, कुश्मा नगरपालिकालाई पर्यटनको रुपमा उच्चतम् विकास, भूकम्पपीडितलाई प्राप्त अनुदान एकमुष्ट दिलाउनुको साथै कुश्मा बजारमा चिडियाखाना बनाउने लक्ष्य र प्रतिबद्धता लिएकी छु । यि नै विषय पुरा गर्नका लागि मेरो उम्मेदवारी परेको हो ।

सबैका नारा उस्तै उस्तै देखिन्छन नि ?

सबैका नारा उस्तै देखिन्छन् । ति नारा हुन हामी व्यवहारमा उर्तार्छौ । ति बोली हुन् हामी गरेर देखाउँछौं, यहि बुझ्नुस् ।

स्थानीय चुनावमा महिला सहभागिताको कुरा आउँदा किन ‘उप’ जोडिएका पदमा मात्र चर्चा हुन्छ ?

अहिले महिला आन्दोलनले मात्रै होइन, देशले पनि काँचुली फेर्न लागेको छ । पहिले महिलाले व्यक्तिगतस्तरबाट धेरै काम गरेका थिए । विस्तारै ती विषय संस्थागत हुँदै जाँदैछन् । योगमामा, दिव्यश्वेरी कोइराला, मंगलादेवी, सहाना र साधना प्रधानहरूको व्यक्तिगतरूपमा ठूलो योगदान रह्यो । उहाँहरू विभिन्न स्थानमा चुनिनुभयो, नेतृत्व गर्नुभयो र राजा त्रिभुवनलाई समेत गएर सल्लाहकार सभामा सल्लाह दिने जस्ता काम भए । पद्मशमशेरलाई कन्भिन्स गरेर महिलाले पढ्ने व्यवस्था मिलाएका थिए । महिलाले राम्रोसँग कन्भिन्स गर्न सक्दारहेछन् भन्ने यी घटनाबाट प्रमाणित भएको छ । र मैले पनि जसरी माथि उठाएका स्थानीय एजेण्डाहरु छन् आज नपत्याउनेहरुले भोली प्रष्ट देख्ने नै छन् । निर्वाचनमा महिलाको संख्या ३३ प्रतिशत नपुग्दा वैधानिकता प्राप्त गर्न नसक्ने व्यवस्था गरेको भए त्यसले ठूलो फड्को मार्दथ्यो । हामी हिजै चुक्यौं अब नचुक्नका लागि पनि मलाई अत्यधिक मत दिएर विजयी गराउनुहोस्, उपको मात्रै चर्चा होईन माकेले देशका विभिन्न स्थानमा मुख्य पदमापनि महिलाहरुलाई सम्मान दिएको छ । उप या मुख्य जे भएपनि खासमा गर्ने भनेको महिला अधिकार स्थापीत र काम, व्यवहार हो ।

यो चुनावमा बढी नै उत्साहित छन् महिला । किन होला ?

महिलाहरुले चाहे भने देशको विकास गर्दछन् भन्ने ईतिहासबाट महिलाहरु उत्साहित बनेका हुन् । यो हिजोको स्थानीय चुनाव होइन । विद्यादेवी भण्डारी राष्ट्रपति भएर राम्रै काम गर्नुभएको छ । सुशिला कार्की प्राधानान्यायाधीश भएर सत्य न्याय प्रदान गनुृभएकै छ । ओनसरी घर्ति सभामुख बनेर पार्लियामेन्ट चलाउनुभएकै छ । हिजो महिलाले बन्दुक चलाउन हुँदैन भनेर भन्दै गर्दा ठूला ठूला लडाईका मोर्चाहरु महिलाबाटै सफल भएका छन् । यिनै कारणबाट सबै पार्टीमा भएका महिलाहरुमा उत्साह बढेको हो ।

अन्त्यमा, नगरवासीहरुको म साझा उम्मेदवार हुँ, मलाई काम गर्नका लागि अत्यधिक बहुमत दिनुहोस्, मैले जे बोलिरहेकी छु त्यो काम जसरी पनि गर्ने प्रतिवद्धता व्यक्त गर्दै चुनावी समयमा मेरा धारणा र एजेण्डाहरुकाबीच यतिका लामो भलाकुसारी गरी आम जनतामाझ मेरा धारणाहरु राख्ने अवसर दिनुभएकोेमा नवदृष्टि डटकमलाई पनि धन्यवाद दिन चाहान्छु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!