इलाममा कोरोना सङ्क्रमित फेला परेपछि सतर्कता

Posted on: 20 Apr, 2021

वैशाख ७, इलाम । कोरोना भाइरसको दोस्रो चरणको सङ्क्रमण एक जनामा पुष्टि भएपछि इलामस्थित कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । सूर्योदय नगरपालिका–११ का ६२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको थियो । उहाँको झापाको विर्ता सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । सङ्क्रमित पुरुषको सम्पर्कमा पुगेका अन्य पाँच व्यक्तिको भने सोमबार स्वाब सङ्कलन गरिने जनाइएको छ । 

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काको अध्यक्षतामा आइतबार बसेको बैठकले इलाम र झापाको सिमाना जोर कलशमा हेल्थ डेस्क राख्ने र इलाम प्रवेश गर्नेको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको छ । बैठकले सरकारले दोस्रो चरणमा शुरु गर्न लागेको कोभिड–१९ खोप यही वैशाख ७ गते देखि ११ गतेसम्म लगाउने निर्णय भएको प्रजिअ खड्काले जानकारी दिनुभयो । 

“इलाम सदरमुकाममा दोस्रो चरणको खोप लगाउने सङ्ख्या बढिरहेकाले वैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी गरिएको छ”, प्रजिअ खड्काले भन्नुभयो, “अन्य पालिकामा वैशाख ८ र ९ गते खोप लगाइने छ ।” प्रजिअ खड्काका अनुसार यसपटकको अभियानमा पहिलो चरणमा खोप लगाउनेले मात्र दोस्रो चरणको खोप लगाउन पाउने छन् । गत माघ १४ देखि २४ सम्म र फागुन २ देखि ११ गतेसम्म खोप लगाउनेलाई यो दोस्रो चरणको खोप लगाइने छ । 

इलाम नगरपालिबाहेकका स्थानीय पालिकामा रहेका ४४ स्वास्थ्य चौकी र मङ्गलबारे, फिक्कल, पशुपतिनगर तथा प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भने वैशाख ८ र ९ गते खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोभिड स्थानीय स्रोत व्यक्ति विमल बरालले जानकारी दिनुभयो । 

यता नेपाल–भारत आवतजावत गर्ने मुख्य नाका पशुपतिनगरमा भने स्वास्थ्य परीक्षण साथै एन्टिजेन र मलेरिया परीक्षणलाई कडाइ गरिएको छ । यस्तै सीमा नाकाबाट आउने सबै यात्रुको अनिवार्य रेकर्ड राख्न लगाउने र भारतबाट नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गरी शङ्कास्पद देखिएका व्यक्तिको कोभिडको एन्टिजेन परीक्षण र मलेरियाका लागि आरडिटी परीक्षण गर्ने काम भइरहेको प्रजिअ खड्काले जानकारी दिनुभयो । 

बैठकले स्यानिटाइजर, मास्कको प्रयोग, सामाजिक दूरी कायम राख्न र स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ । यसैबीच इलामको रोङ र माई नगरपालिकामा कोभिड अस्पताल पनि सञ्चालनमा आएका छन् । एक जना एमबिबिएस डाक्टरसहितको स्वास्थ्यकर्मीको टोली अस्पतालमा रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!