नेपाल वायुसेवा निगमको परीक्षण उडान सफल

Posted on: 09 Feb, 2022

माघ २६, मङ्गलबारे । इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ ।

निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि भएको छ । काठमाडौंदेखि इलामका लागि भएको पहिलो उडान सफल भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर विनायक भट्टराईले बताउनुभयो । 

विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभइ तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । अब आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान सुरु हुने बताइएको छ । प्राधिकरणका इञ्जिनीयर भट्टराईले मौसमले राम्रो साथ दिएको पनि बताउनुभयो । उहाँका अनुसार सुकिलुम्बा विमानस्थलको धावन मार्ग पक्की भएपछि आज परीक्षण उडान गरिएको हो । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल काठमाडाँैबाट सुकिलुम्बा विमानस्थलमा जहाजलाई अवतरण गर्न करिब ५५ मिनेट समय लागेको उहाँको भनाइ छ । 

निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराउनु भएको बताइएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहित विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो । समुद्र सतहबाट एक हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारी भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ । तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!