विश्वको सबैभन्दा महँगो आलु, किलोको ६८ हजार रुपैयाँ

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौँ । आलुलाई तरकारीको राजा भनिन्छ । विश्वभरी आलु नपाक्ने घर विरलै होलान् । यसबाट विभिन्न खालका स्वादिष्ट खाना बनाइने गरिन्छ । एक किलो आलुको मूल्य ५०–६० रुपैयाँ पर्छ । यस्तोमा यदि एक किलो आलु किन्न ६० हजारभन्दा बढी पैसा खर्च गर्नुपर्छ भनियो भने सायद तपाईंले विश्वास गर्नु हुँदैन होला । तर यो साँचो हो । विश्वमा आलुको एउटा यस्तो प्रजातिको खेती हुन्छ जसको एक किलोको मूल्य करिब ६८ हजार पर्छ ।


कहाँ हुन्छ यसको खेती ?

ली बोनोटे (Le Bonnotte) नामका यो आलुको खेती फ्रान्सको एक द्वीप Ile de Noirmoutier मा हुन्छ । बलौटे माटोमा यसको खेती हुन्छ । समुद्री झारले यसको मलको रुपमा काम गर्छन् । यसको खेती ५० वर्गमिटरको जमिनमा हुने बताइन्छ ।

विश्वको पाँच सर्वाधिक महँगो तरकारीमा पर्छ

पोटेटोरिभ्यु वेबसाइटका अनुसार प्रति किलोग्राम यसको औसत मूल्य ५०० युरो अर्थात् नेपाली ६८ हजार रुपैयाँ पर्छ । यद्यपि, यसको मूल्य माथि–तल भइरहन्छ । अन्तरराष्ट्रिय कम्पनी क्वान्डे नास्ट ट्राभलले यसलाई विश्वको पाँच सबैभन्दा महँगो तरकारीमा समावेश गरेको छ ।

आलुको सबैभन्दा दुर्लभ प्रजाति

यो आलुलाई दुलर्भ प्रजातिको श्रेणीमा राखिएको छ । ली बोनोटे (Le Bonnotte) लाई प्रत्येक वर्ष १० दिनसम्म मात्रै उपलब्ध गराइन्छ । यसको खेतीका लागि निकै सावधानी अपनाउनुपर्छ । ली बोनोटे (Le Bonnotte) आलुलाई रोपेको तीन महिना पछि यसलाई खनेर निकालिने गरिन्छ । फेब्रुअरीमा यो रोपिन्छ र मेमा यो खन्ने गरिन्छ ।

यो आलुको स्वाद नुनिलो हुन्छ भनिन्छ । यसको प्रयोग प्युरी, सलाद, सुप र क्रिमको तयारीका लागि गरिन्छ । साथै थुप्रै रोगविरुद्ध यसको सेवन फाइदाजनक मानिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!