मतदान केन्द्र अपाङ्गतामैत्री नहुँदा समस्या

Posted on: 20 Nov, 2022

मङ्सिर ४, नवलपरासी | पूर्वी नवलपरासी कावासोती-६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गर्नुभएको छ । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताउनुभयो । 

शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताउनुभयो । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मत खसाल्नुभयो । 

कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त हुनुहुन्छ । उहाँ पनि ‘ह्विलचियर’ प्रयोग गर्नुहुन्छ । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल 

अपाङ्गमैत्री नहुँदा उहाँलाई मत खसाल्न गाह्रो भयो । 

देवचुली-१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्नुहुन्न । उहाँले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउनुहुन्छ । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उहाँको भनाइ छ । 

कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन हुनुहुन्छ । उहाँ अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उहाँको तर्क छ ।  

देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!