निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो उपहारस्वरुप २०० वटा गाडी

Posted on: 01 Nov, 2022

कात्तिक १५,  काठमाडौँ | भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । 


नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन्। साे क्रममा अर्थमन्त्री शर्माले यी सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।

साथै भारतीय राजदूतावासले पनि यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेको छ । ‘भारत र नेपालबीच बहुपक्षीय एवम् बहुआयामिक विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गर्दछ । यी सवारीसाधनको हस्तान्तरणले जनता जनताबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भारत सरकारले पु-याउदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले नेपालका सुरक्षा निकाय र निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउदै आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरुप प्रदान गरिसकेको जनाइएकाे छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!