अनशनरत गोविन्द केसी अस्पताल भर्ना

Posted on: 15 Sep, 2022

भदौ ३०, काठमाडौँ | सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको श्रीकृष्ण मन्दिरको धर्मशालामा अनसनरत केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ ।

अनशनरत गोविन्द केसी अस्पताल भर्ना – Online Khabar

डा.केसीका सहयोगी डा. अमृत जैशीले स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको जानकारी दिए । ‘उहाँको ब्लड प्रेसर निकै घटेको छ भने ब्लडमा सुगरको मात्रा पनि कम देखाएको छ,’ जैसीले भने, ‘त्यो सँगै रोग प्रतिरोधात्मक क्षमता घटेको छ । पिसाबमा पनि क्रिटनको मात्रा बढेको छ । अहिले वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर नेतृत्वको चिकित्सकको टोलीले उहाँको उपचार गरिरहेको छ ।’

धनगढी पुगेर सोमबार साँझदेखि २० औं पटकको सत्याग्रह थालेका डा. केसीको स्वास्थ्यमा मंगलबार रातिदेखि समस्या देखिन थालेको थियो । विगतका अनसनमा उनको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिएपनि यस पटक भने तीन दिनमै जटिल खालको समस्या देखिएको डा. जैसी बताउँछन् ।

‘पहिले–पहिले उहाँको स्वास्थ्यमा ढिलो गरेर समस्या देखिन्थ्यो । उमेर बढ्दै जादा शरीर कमजोर भएकाले अहिले चाडै समस्या देखिएको छ’, जैसीले भने । अनसनरत डा. केसीले पानी बाहेक अरु केही नखाएका कारणले स्वास्थ्य अवस्था जटिल बन्दै गएको हो । सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै विभिन्न ७ बुँदे माग राख्दै केसी सोमबारदेखि धनगढीमा अनसन बसेका थिए ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि धनगढीमा २०औं सत्याग्रहमा बसेका डा. केसीसँग वार्ता गर्न सरकारले कुनै औपचारिक प्रक्रिया थालेको छैन । लामो समयसम्म सरकारले वार्ता गर्न उदासिन भए डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिने चिन्ता गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!