औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा प्रहरीसँग झडप, दुई जना घाइते

Posted on: 10 Oct, 2021

असोज  २४,काठमाडौँ,न्युज कारखाना | रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्नेलाई हटाउन खोज्दा आज प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका कारण औद्योगिक क्षेत्रस्थल केहीबेर तनावग्रस्त बन्यो ।

औद्योगिक क्षेत्रको करिब साढे ८ सय बिगाहा जग्गामध्ये चार सय बिगाहा जग्गा अतिक्रमण भएको छ । आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो । झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झडपमा प्रहरीले बल प्रयोग गरी गोलीसमेत चलाएको स्थानीयले आरोप लगाएका छन् । राति १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको स्थानीयको आरोप छ । 

बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो । प्रशासनले तीन दिनदेखि रातिमा टहराहरु भत्काइदिँदै आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलले बारम्बार हट्न आग्रह गर्दा पनि नमानेपछि सामान्य बल प्रयोग गरेको जनाएको छ ।

गत चैतमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयले प्रतिरोध गरेका थिए । आफूहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा थाहै नदिई औद्योगिक क्षेत्रको नाममा लगेको भन्दै स्थानीय आक्रोशित थिए । उक्त जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआरसमेत तयार भैसकेको अवस्थामा स्थानीयले अतिक्रमण रोकेका छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!