म्याद सकियो, अक्सिजन प्लान्ट आएन

Posted on: 09 Jun, 2021

जेठ २६, जाजरकोट (रासस)। ठेक्का अवधि सकिए पनि जाजरकोटको जिल्ला अस्पतालमा अझै अक्सिजन प्लान्ट जडान भएको छैन । अक्सिजन प्लान्ट जडान नहुँदा जटिल अवस्थाका कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बाध्यता छ ।

जेठ १५ गतेभित्र अक्सिजन प्लान्ट जडान गर्ने गरी काठमाडौँको नेपटेक मेडिकल सप्लायर्सले ठेक्का सम्झौता गरेको थियो । कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो । अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो ।

ठेक्का सम्झौताअनुरूपको निर्धारित समय बितिसक्दा पनि नेपटेकले अस्पतालमा अक्सिजन प्लान्ट जडानको कुनै प्रक्रिया अघि नबढाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । अक्सिजन प्लान्ट जडान नहुँदा अक्सिजनका सिलिण्डर भर्न नेपालगञ्ज पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्य सेवा व्यवस्थापक टीकाराम जैशीले बताउनुभयो । नेपटेकले कोरोना महामारी र लकडाउनका कारण प्लान्ट जडान गर्न नसकिएको भन्दै १५ दिनको थप समय माग गरेको छ तर कार्यालयले पाँच दिनको समय मात्र थप गरेको स्वास्थ्य सेवा व्यवस्थापक जैशीले बताउनुभयो ।

उहाँका अनुसार निर्धारित समयभित्र काम सम्पन्न हुन नसके बढीमा पाँच दिनसम्म समय थप गर्न सकिने व्यवस्था छ । थप गरिएको समय पनि गुज्रिएपछि ठेकेदारले थप समय माग गरेको उहाँले बताउनुभयो । नेपटेकका प्रोप्राइटर नरबहादुर लिम्बूले जेठ मसान्तभित्र अक्सिजन प्लान्ट जडान गरिने बताउनुभयो । थपिएको समय पनि सकिएकाले ठेकेदारलाई कस्तो कारवाही गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग परामर्श भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । समयमा अक्सिजन प्लान्ट जडान नगर्दा कोरोना सङ्क्रमितलाई अक्सिजन दिन समस्या भएको जिल्ला अस्पतालका मेडिकल अधिकृत ओसरसिंह राठोरले बताउनुभयो ।

जनप्रतिनिधिको द्वन्द्वले कर्मचारी चेपुवामा

मुड्केचुला गाउँपालिका डोल्पामा अध्यक्ष र उपाध्यक्षबीच द्वन्द्व बढ्दा काम गर्न मुस्किल भएको छ । अहिले कार्यरत प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले उपाध्यक्षलगायत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको मात्र कुरा सुनेर काम गरेको अध्यक्ष पक्षधरको भनाइ छ ।

एमाले मुड्केचुला गाउँपालिकाको बैठकमा समेत प्रमुख प्रशासकीय अधिकृत पुग्ने गरेको, गुटगत भेला गर्दै हिँडेकोलगायतका आरोप अध्यक्षले लगाएका छन् । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गरेका काम उल्ट्याउँदै गएको समेत आरोप लगाइएको छ । एमालेको गुटगत बैठकमा आफू सहभागी भएको तर समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्नका लागि आफू त्यहाँ गएको अधिकृत श्रेष्ठले स्वीकार गर्नुभएको छ ।

यता उपाध्यक्षलगायत अन्य जनप्रतिनिधिले विज्ञप्ति प्रकाशित गरी मिडियालाई समेत गाली गर्दै अध्यक्ष र पत्रकार मिलेर गाउँपालिकामा काम गर्ने वातावरण बिगारेको आरोप लगाएका छन् । हप्ता दिनदेखि गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता वितरणदेखि अन्य विकास निर्माणका कामको भुक्तानी नगरेको समाचार प्रकाशित भएपछि मिडियाप्रति उपाध्यक्ष सविताकुमारी रोकायलगायत केही वडाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको बचाऊ गर्दै विज्ञप्ति निकालेका हुन् ।

साउनदेखि अहिलेसम्म मुड्केचुलामा सामाजिक सुरक्षा भत्ता वितरण हुनसकेको छैन । करारमा भर्ना गरिएका कर्मचारीको समेत म्याद नथप्नेलगायत काम हुँदै आएको बताइएको छ । “समाजिक सुरक्षा भत्ता वितरण भएको छैन, मिडियामा आएका कुरा सत्य हुन्, अब म के गरौँ?”, गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले भन्नुभयो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!