म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

Posted on: 22 May, 2021

जेठ ८, तम्घास | जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ । गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो ।

जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो । व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको उपभोक्ताले गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहीबार बजार अनुगमन गरेको थियो । गाउँपालिकाको वडा नं १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजालगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा र मदिराजन्य वस्तु बरामद गरिएको थियो । कूल रु एक लाख २० हजार बराबरको सामग्री नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले राससलाई बताउनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!