छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

Posted on: 03 May, 2022

वैशाख २०, काठमाडाैं | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । 

गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देबी पोख्रेल लगायत ३ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा  घाइते भएका लोडर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

झापाको बाह्रदशी गाउँपालिका–५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको ट्रयाक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार मृत्यु भएको छ । 

नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ सिसहवामा लु.५१ प ४२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया भक्ति हरिजन रहेका छन् । उनको सोमबार मृत्यु भएको हो । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका–८ एक्ला बस्ने १० वर्षीय गणेश गुप्ता रहेका छन् । 

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको सोमबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसवनिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक कजना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सुनसरीको वर्जु गाउँपालिका–५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना  हुँदा चालक मोरङ विराटनगर महानगरपालिका–१५ का रत्नेश धाडेवालको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीमा प्रदेश १–०२–०४२ प १६०० नम्बर र  मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर–१ बस्ने ४५ वर्षीय गणेश सिटौला रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!