अब कतार स्थित नेपाली दुतावासबाटै विद्युतीय राहदानी पाइने, बुकिङ खुल्यो (तरिका सहित)

Posted on: 07 Feb, 2022

माघ २४, काठमाडौँ । कतारस्थित नेपाली राजदूतावास नेपाली राजदूतावासबाट पहिलो पटक लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी जारी गरिएको छ । यो संगै बिदेशी नियोगबाट विद्युतीय राहदानी जारी गर्नेमा कतार स्थित नेपाली दुतावास पहिलो समेत बनेको छ । 

कतारबाटै विद्युतीय राहदानी पाउनको आजैदेखि नेपाली राजदूतावास, कतारले बुकिङ समेत खुला गरेको छ । यद्यपि, सुरुको एक हप्ताका लागि सीमित मात्रामा बुकिङ खुल्ला गरिएको राजदूतावासले जानकारी दिएको छ । 

यस्तै, अन्य खाडी मुलुकहरु र मलेशियामा रहेका नेपाली नियोगहरूमा समेत विभागबाट विद्युतीय राहदानीको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ केही दिन भित्रै विद्युतीय राहदानीको सेवा अन्य मुलुकहरुमा समेत सुरु हुने विभागको भनाइ छ । 

यी बाहेका अन्य अमेरिकी तथा युरोपेली मुलुकहरुमा समेत रहेका सबै नेपाली नियोगहरूमा उपकरणहरू पठाउने कार्य भइरहेको र केही हप्ताभित्र सेवा सञ्चालन गर्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ ।  नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालयहरु र ५ वटा इलाका प्रशासन कार्यालयहरु गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ  इनरोलमेन्ट शुरु भइ सकेको छ । अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य गरी गरिरहेका छन् ।

कतार स्थित नेपाली दुतावासको थप जानकारी 

ई-पासपोर्ट प्रणालीको सफलतापूर्वक शुरुवात भएसँगै दूतावासमा इ-पासपोर्ट आवेदन दिनका लागि प्रि इनरोलमेन्ट बुकिंग खुला गरिएको छ । प्रि-इनरोलमेन्टका लागि निम्न लिंकमा गई विद्युतीय माध्यमबाट तोकिएका विवरण तथा कागजातहरु अपलोड गर्नुपर्नेछ । :

https://emrtds.nepalpassport.gov.np

२०७८ साल माघ २० गते (तदनुरुप ३ फेब्रुवरी २०२२) सम्म यस राजदूतावासमा MRP को आवेदन दिनुभएका सेवाग्राहीको  MRP तयार भई सोही अनुरुप वितरण हुनेछ । यसरी बनाइएका MRP को अवधि बहाल रहने समयसम्म प्रयोगमा ल्याउन सकिने भएकोले MRP बाहकहरुले e-Passport बनाउन आवश्यक छैन । 

ई-पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरीका 

१) राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने  । 

•पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ (New) 

•पुरानो MRP हुनेहरुले नवीकरण (Renewal) 

•हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा

•हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged) 

त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।  

२) त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु भर्ने । कतारमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रि परिचयपत्र नं राख्नु नपर्ने । 

३) त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।

४) त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर  आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।

५) तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ । 

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने छ । 

ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np र यस राजदूतावासको वेव साईट र फेसबुक पेजमा राखिने सूचनाहरु हेर्दै गर्नुहोला । 

प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु: 

-नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै । 

-हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै ।

-हालको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन । 

-१६ वर्षमुनिका नेपाली बालबालिकाको हकमा: 

बुबा आमाको नागरिकताको प्रमाणपत्र । 

बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।

-कतारमा जन्मेको बालबालिकाको हकमा यहाँबाट जारी जन्मदर्ताको प्रमाणपत्र । (कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यसै राजदूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरेको प्रति )

नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।

माथि उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा साथमा लिएर राजदूतावास आउनुपर्ने दुतावासले जनाएको छ । यस्तो राहदानी लिनको लागि शुल्क भने यथावत रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!