वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? के-के लाने ? जानुअघि परिवारलाई के-के कागजात छोड्ने ?

Posted on: 22 Sep, 2021

टिप्स | वैदेशिक रोजगारमा जान चाहनेहरु जानु अघिनै धेरै कुरामा सचेत हुने र त्यसै अनुसारको पुर्वतयारी गर्ने हो भने वैदेशिक रोजगार सुरक्षित बनाउन सकिन्छ । विदेश जानु अघि २/४ महिना ढिलोनै किन नहोस धेरै कुरा बुझेर जाने हो भने आफैलाई भविष्यमा आईलाग्न सक्ने दुर्घटना तथा बिभिन्न समस्याबाट बच्न सकिन्छ साथै वैदेशिक रोजगारको क्रममा हुन सक्ने ठगिबाट पनि बच्न सकिन्छ । 

आफ्नो वैदेशिक रोजगार यात्रालाई सुरक्षित बनाउनको लागि साथै गन्तव्य देशमा पुगेर आउन सक्ने समस्या, स्वदेशमा जुन प्रलोभन देखाइएको छ त्यो अनुसारको सेवासुविधालाई सुनिस्चित पार्न, तथा स्वदेश फर्कन कठिनाई हुने, कतिपय अवस्थामा जेल सजाय समेतको लागि पनि पुर्वतयारीले निकै ठूलो भूमिका खेल्छ । साथै आफू गएको मुलुकमा कुनैपनि समस्यामा फसेको अवस्थामा पनि तत्काल उद्दार हुने अवस्थाको लागि पनि पुर्वतयारीले भूमिका खेल्छ ।

हाल वैदेशिक रोजगार बिभागले नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा जाने सन्दर्भमा श्रम स्वीकृति लिनुपर्ने बाध्यकारी अवस्था छ । आफू विदेश जानु अघिकै आफ्नो पासपोर्टको नम्बर अनुसार श्रम भएको नभएको ? कुन म्यानपावरबाट जाने ? कुन देशको कुन कम्पनीमा जाने ? कति तलब हुन्छ ? जस्ता जानकारी आफ्नो पासपोर्ट नम्बर हानेर सहजै चेक गर्न सकिन्छ ।  


यहाँ हामीले वैदेशिक रोजगारमा जानु अघि आफूले के-के कागजात वा सामग्री लैजाने र आफ्नो परिवारलाई के-के कागजात छोडेर जाने ? भन्ने प्रश्नको जानकारी दिन गईरहेका छौं ।

# आफूसाथै लैजानुपर्ने सामग्री तथा कागजातहरु निम्न छन् । 

१. आवश्यक कागजातहरु (भिसा, टिकट, पासपोर्ट, करारनामा, बिमापोलिसी आदि)

२. आवश्यक खर्च (सम्बन्धित देशको मुद्रा)

३. आवश्यक पर्ने व्यक्तिगत सामानहरु

४. सामान्य स्वास्थ्य समस्या आउँदा प्रयोग हुने औषधिहरु 

५. केहि खाने कुराहरु

६. आवश्यक पर्ने सम्पर्क नम्बरहरु

७. लगेज (लैजान मिल्ने सामानहरु मात्र)

याद गर्नुहोस्: वैदेशिक रोजगारमा जाने क्रममा पनि आफूले पहिलेदेखिनै राम्ररी चिने-जानेको बाहेक व्यक्तिले कुनै सामान पठाउनु छ भनेर भनेको भरमा सामानहरु लिएर नजानुहोला । आफूले अरुको सामान लैजानै पर्ने भएमा अनिवार्य के सामान हो निश्चित गरेर मात्र लैजानुहोला । 

# परिवारलाई छाडेर जानुपर्ने कागजात तथा विवरणहरु निम्न छन् । 

१. पासपोर्ट तथा भिसाको प्रतिलिपि

२. पासपोर्ट कागजात र आफूले जसलाई पैसा बुझाएको हो त्यसै संस्थाबाट गरेको प्रमाण खुल्ने श्रम स्वीकृति लिएको स्टिकरको प्रतिलिपि

३. करारनामा सम्झौता पत्रको प्रतिलिपि

४. बीमा पिलिसिको प्रतिलिपि

५. स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्रको प्रतिलिपि 

६. अभिमुखीकरण तालिम लिएको प्रमाणपत्रको प्रतिलिपि

७. इजाजत प्राप्त संस्थालाई कानुन बमोजिम बुझाएको रकमको भरपाई (पैसा बुझाउँदा अनिवार्य भौचरमा 'वैदेशिक रोजगार' उल्लेख गर्नुहोला) 

८. सम्बन्धित इजाजतपत्र प्राप्त संस्था वा निजको प्रतिनिधिको सम्पर्क ठेगाना 

९. आफू जान लागेको कम्पनीको ठेगाना तथा सम्पर्क विवरणहरु 

१०. सम्बन्धित मुलुकको नेपाली दुतावासको ठेगाना तथा सम्पर्क विवरण 

११. सम्बन्धित देशमा वा कम्पनीमा कोहि चिनजानका व्यक्ति भएमा उनीहरुको सम्पर्क विवरण 

१२. सरोकारवाला निकायहरुको सम्पर्क विवरण (वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार वोर्ड, कन्सुलर सेवा बिभाग, आदि)

१३. विदेशबाट नेपाल रकम पठाउनका लागि प्रयोग हुने बैंकको विवरण 

# वैदेशिक रोजगार सम्बन्धित धेरै जानकारी पाउनको लागि Baideshik Rojgar मोबाइल एप डाउनलोड गर्नुहोला !

यस बिषयमा तपाइको प्रतिक्रिया...!