निषेधाज्ञापछि सोमबार पहिलो कतार उडान, आज पनि अर्को उडान हुँदै

Posted on: 08 Jun, 2021

जेठ २५, काठमाडौँ | निषेधाज्ञापछि सोमबारदेखि कतारको दोहामा नियमित उडान शुरू भएको छ । सरकारले टर्की, चीन र कतारका लागि सातामा १/१ उडानको अनुमति दिएसंगै सोमबारबाट कतारको दोहामा उडान शुरू भएको हो ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि गत वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गरिँदा विदेशबाट समस्यामा परेका नेपालीहरु नेपाल फर्किन तथा वैदेशिक रोजगारमा जान सकेका छैनन् । त्यस्तै विद्यार्थी भिसामा जान चाहेकाहरु पनि रोकिएका छन् । 

सरकारको अनुमतिसंगै सोमबार कतार एयरवेजको विमानबाट कतारको दोहादेखि २३१ जना यात्रु नेपाल फर्किएका छन् । त्यस्तै नेपालबाट सोमबारनै २०९ जना यात्रु दोहा प्रस्थान भएका छन् । साउदीस्थित नेपाली दुतावासले साउदीबाट ट्रान्जिट भएर नेपाल जान सक्ने भन्दै जानकारी गराएको छ । 


सरकारको निर्णय अनुसार हाल विदेशबाट आउँदा कोरोना परीक्षण नेगेटिभ भएको पीसीआर रिपोर्टको फोटो र बारकोडसहितको रिपोर्ट साथमा ल्याउनुपर्ने हुन्छ । साथै काठमाडौँ आएपछि अनिवार्य आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्छ । 

यसैबीच आज मंगलबार नेपाल एयरलाइन्सले दोहादेखि काठमाडौँको उडान भर्दैछ । यो सरकारले अनुमति दिएको नियमित उडान अन्तर्गतकै उडान रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!