अनलाइनबाट पुन: श्रम स्वीकृति, यी ६ कागजात चाहिन्छ

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौँ | वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन् । बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन । यस अघि श्रम स्वीकृति लिन स्वदेश आउनैपर्ने बाध्यता थियो ।  

अनलाइनबाटै श्रम स्वीकृति दिने भएपछि अब दैनिक ५ सय जनाले वैधानिकीकरण पाउने भएका छन् । वैदेशिक रोजगार बिभागले सम्भवत: आगामी मंगलबारदेखि यो प्रणाली कार्यान्वयन गर्ने जनाएको छ । बिभागले अनलाइनबाट श्रम स्वीकृति नवीकरण गर्ने सबै तयारी पूरा भएको जनाएको छ । 


यी छ कागजात आवश्यक:-

१. पहिले पाएको श्रम स्वीकृतिको प्रतिलिपि 

२. राहदानीको प्रतिलिपि

३. अघिल्लो पटक र हाल प्राप्त गरको भिसा

४. रोजगार करारपत्र

५. जीवन बिमा  

६. कल्याणकारी कोषमा रकम भुक्तानी 

माथिमा ६ कागजात भएमा सम्बन्धित देशको दूतावासले सहजै पुनः श्रम स्वीकृति दिन सक्नेछ ।

पुन: स्वीकृतिको लागि कल्याणकारी कोष र बिमाको रकम पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाईएको वैदेशिक रोजगार बिभागले जनाएको छ ।

विभागका अनुसार बिदामा नेपाल आएका श्रमिक पनि श्रम स्वीकृतिका लागि प्रदेश र केन्द्रमा तोकिएको कार्यालयमा धाइराख्नु पर्दैन । 

अर्को महत्वपूर्ण कुरा पुनः श्रम स्वीकृति लिन म्यानपावर कम्पनीको सहयोग आवश्यक पर्दैन । एक पटक श्रम स्वीकृति लिएपछि दुई वर्षसम्म त्यसको म्याद हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!