वैदेशिक रोजगारमा प्रथम पटक जाने मान्छेलाई किन डिप्रेशनको खतरा हुन्छ ?

Posted on: 25 Feb, 2019

सृजना सुनार | यदि तपाईं पहिलो पटक बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ भने 'म डिप्रेशनमा पर्न सक्छु कि ?' भनेर सतर्क रहनुहोस् । साथै डिप्रेशनमा पार्न सक्ने कुराहरु प्रति जानकारी लिएर मात्र बैदेशिक रोजगारीमा जानुहोस् । बैदेशिक रोजगारमा पहिलो पटक गएका करिब ३०% युवाहरु कुनै न कुनै र केहीनकेहि मात्रामा भए पनि डिप्रेशनको सिकार भएको पाइन्छ । यहाँसम्म कि कसैले यहि डिप्रेशनको कारणले आत्महत्या समेत गर्नेगरेका छन् । 

दुई हप्तासम्म मन लगातार दुःखी र उदास भइरह्यो, दिक्दारी भईराख्यो भने वा अरु लक्ष्यणहरु पनि आयो भने त्यसलाई डिप्रेशन भनिन्छ । निन्द्रा नहुने, खाना नरुच्ने, बोल्न मन नलाग्ने, मन खुसी नहुने, पहिला आफूलाई जे कुरामा खुसी र आनन्द लाग्थ्यो त्यो नहुने, टाउको दुख्ने, मुटु काम्ने, एक्लै बसेर रुन मन लाग्ने जस्ता लक्षणहरु डिप्रेशनका लक्षण हुन् । 

यहाँ बैदेशिक रोजगारीमा गएकाहरुलाई डिप्रेशन हुनुको कारण र बच्ने उपाय बारे चर्चा गरिएको छ ।

डिप्रेशन हुनुको कारण

- नितान्त नयाँ परिवेश र नयाँ वातावरणमा आफूलाई घुलमिल गराउन नसक्नु । भन्छन्, 'धेरै सुःखमा हुर्किएका मानिसहरु एक्कासी दुःख पाए भने पनि डिप्रेशनमा पर्छन । दुःख पाएकाले एक्कासी सुःख पाए भने पनि यस्तो हुनसक्छ । 

- नेपालबाट बैदेशिक रोजगारीमा जाँदा सोचे अनुरुपको काम तथा तलब नहुनु ।

- कोठामा बस्ने साथीहरुसंग कुरा नमिल्नु वा झगडा भईराख्नु ।

- काममा अनावश्यक दबाब र आत्म सम्मानमा कमी हुनु ।

- निन्द्रा र खान-पिन नेपालमा झैँ नहुनु वा राम्रो नहुनु ।

- नेपालमा जस्तो हावा-पानी अनुकुल नहुनु । 

- नयाँ ठाउँ/परिबेश/नियम/कानुन आदी ज्ञानको अभाव तथा केही गल्ती हुन्छ कि भनी मनोवैज्ञानिक डर हुनु ।

- आफ्नो जीन्दगी बिग्रियो कि भन्ने चिन्ता हुनु ।

- साहुको ऋण तथा घरायसी पिर चिन्ता हुनु । 

- कतिपयको बंशाणुगत रोगनै डिप्रेशन हुनसक्छ । यदी परिवारको बा, आमा, हजुरबा, हजुरआमा अथवा यो भन्दा पनि अघिकोपुस्तालाई कुनै बेला डिप्रेशन भएको थियो भने डिप्रेशन हुनसक्छ। 

- आफू विदेश छँदा कुनै प्रियजनको मृत्यु वा असामान्य रोगले ग्रसित भए पनि त्यसैको चिन्तामा डिप्रेशन हुन सक्छ । 

डिप्रेशनबाट बच्ने उपाय

- नयाँ ठाउँ/परिबेशमा आफूलाई घुलमिल बनाउने प्रयास गर्ने र कुनै असामान्य बिषयलाई विदेशमा यस्तै हो भनेर ignore गर्दिने ।

- सोचे अनुसारको काम र तलब नभएता पनि चित्त बुझाउने र घर फर्कने चिन्ता धेरै नलिने । 

- कोठामा बस्ने अन्य साथीहरुसंग घुलमिल हुने, साथीहरुलाई सम्झाएर मिलनसार भई सकेसम्म रमाइलो वातावरण बनाउने ।

- म काम गर्नै आएको हुँ, जति कामको चाप हुन्छ त्यसलाई सहन सकें भने पछी आफ्नो भविष्यमा आईपर्ने जस्तो सुकै परिस्थितिसँग सामना गर्न सकिन्छ भनेर सोच्ने ।

- खानपिन निन्द्रामा राम्रो ध्यान दिने, लामो समयसम्म फोन वा टेलिभिजनमा व्यस्त नहुने । रुटिन बनाएर कार्यसम्पादन गर्ने । 

- नयाँ ठाउँ/परिबेश अनुसार सामान्य नियम कानुनको ज्ञान लिने र नजानेको कुरा साथीभाईसंग सोध्ने ।

- आफूले गल्ती पनि गर्दिन र कसैसंग पनि डराउदिन भनी मनोबैज्ञानिक डर फ्याक्ने, अनावश्यक डर दबाबमा नबस्ने । 

- आफ्नो भविष्य र जीन्दगीको बारेमा बढि चिन्ता नगर्ने ।

- साहुको ऋण धेरै छ भने पनि बिस्तारै तिर्छु भनि आत्मविश्वास बढाउने ।

- घरायसी चिन्ता बढी छ वा घरबाट बढी दवाव छ भने घरमा मानिसलाई आफ्नो वास्तविक कुरा सेयर गर्ने । यसो गर्दा परिवारले तपाइको बाध्यतालाई बुझेर तपाईलाई बढी दवाव दिदैंनन् । 

- भीटामिन डी प्रसस्त मात्रामा प्राप्त भएको खण्डमा निन्द्रा नियमित तथा मीठोसँग लाग्छ जसका कारण डिप्रेशन हुन पाउँदैन । बाहिर हिडडुल गर्नाले भिटामिन डी प्राप्त हुन्छ । सुर्यको प्रकाशबाट भिटामीन डी प्राप्त हुन्छ । 

- यदि तपाई अध्यारो ठाउँमा लामो समयसम्म काम गर्ने तथा ड्युटी बाहेकको समयमा कोठामा मात्र बस्ने गर्नु भएको छ भने, यसका कारण पनि डिप्रशन हुन सक्ने संभावना अत्यधिक रहन्छ । तसर्थ, भिटामीन डी पाइने खानेकुराहरु खाने गर्नुहोस्, घर बाहिर पनि धेरै समय बिताउने गर्नुहोस् र आफ्नो खानामा अण्डाको मात्रा पनि समाबेस गर्ने गर्नुहोस् । यीनीहरुमा प्रसस्त मात्रामा भिटामीन पाइन्छ ।

- खाने परिकारमा भटमास, कुखुराको मासु, अण्डा, दुध, बदेलको मासु,चिज, दही आदीको प्रयोग बढी गर्नुस् । 

- कुनै पनि घटेका घट्ना दुर्घटना अथवा तनावको स्थितिलाई झेल्न सकियो भने डिप्रेशन हुँदैन ।  

- यदी डिप्रेशन भईसकेको हो भने बिरामीको सुरक्षा पहिलो उपचार हो । यस्तो बेलामा बिरामीमा एकदमै नकरात्मक सोचाइ आउछ । समयमा उपचार गर्ने हो भने यो रोग ठिक हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!