‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

Posted on: 01 Feb, 2023

माघ १८, काठमाडौँ | शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो ।


भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत बुधबार रिलिज भएको यो फिल्मले पहिलो साता नेपाली बक्स अफिसमा समेत आक्रामक कमाइ गरेको छ । यद्यपि नेपालको कमाइ सार्वजनिक भइसकेको छैन । गत शनिबारसम्म नेपालमा फिल्मको कमाइ पाँच करोड नेपाली रुपैयाँ हाराहारीमा थियो ।

विश्वभर रिलिज भएदेखि नै कीर्तिमान बनाइरहेको पठानले सात दिनमा ‘बाहुबली २ : द कन्क्लुजन’को हिन्दी संस्करणको कीर्तिमान तोड्दै सात दिनमै ३०० करोड क्लबमा प्रवेश गरेको हो । बाहुबली-१ लाई ३०० करोड भारु कमाउन १० दिन लागेको ट्रेड विश्लेषक तरण आदर्शले जनाएका छन् ।

‘केजीएफ : च्याप्टर २’ (२०२२) को हिन्दी संस्करणले ११ दिनमा ३०० करोडको आँकडा छुन सक्यो । आमिर खानको दंगल (२०१६) ले त्यसका लागि १३ दिन लगाएको थियो । सञ्जु (२०१८) र टाइगर जिन्दा है (२०१७) दुवैले ३०० करोडको क्लबमा प्रवेश गर्न १६ दिन लगाए । यसैबीच आमिरको पीके (२०१४) र ऋतिक रोशनको वार (२०१९) ले ३०० करोडको उपलब्धि हासिल गर्न क्रमशः १७ दिन र १९ दिन लगाएका थिए ।

‘पठान’को एक हप्ताको बक्स अफिस कलेक्सन (३१५ करोड) केजीएफ : च्याप्टर २ को भन्दा ६५ करोड नेटले बढी छ । पठानले पाँच दिनमा यो रेकर्डलाई तोड्न पहिलो हप्ता राम्रो कमाउन सक्यो । 

सिद्धार्थ आनन्द निर्देशित पठान गणतन्त्र दिवस २०२३ को एक दिन अगाडि हिन्दी, तमिल र तेलुगू भाषामा रिलिज भएको थियो । यशराज फिल्म्सले निर्माण गरेको फिल्ममा सलमान खानको समेत विशेष भूमिका छ ।

पठानले रिलिज भएदेखि नै रेकर्ड तोड्दै आएको छ । यसअघि फिल्मले चार दिनमा २०० करोड नेट पार गरिसकेको छ र यो सबैभन्दा छिटो २०० करोड क्लबमा प्रवेश गर्ने हिन्दी फिल्म बनेको छ । फिल्म रिलिज हुनुअघि नै पठानले आफ्नो अविश्वसनीय अग्रिम बुकिङको साथ रेकर्ड तोडेको थियो । पठानको लागि अग्रिम बुकिङ जनवरी २० मा खोलिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!