विज्ञापनबारे सर्वत्र आलोचना भएपछि करिश्माले भनिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ’

Posted on: 23 Mar, 2023

चैत ९, काठमाडौं | अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनीत एक विज्ञापन पछिल्लो समय व्यापक चर्चा भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । 

धेरैले नानाथरी टीकाटिप्पणी गरेपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण दिएकी छिन् । उनले कलाकारको नाताले आफ्ना दर्शकलाई झुक्काउने मनसाय कहिल्यै नरहेको पनि बताइन् । 

उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’

यस्तै उनले थपेकी छिन्, ‘सुझाव सम्मा दिन सकिन्छ, जुन निर्माण पक्षले लिन पनि सक्नुहुन्छ, नलिन पनि सक्नुहुन्छ । मेरो काम भनेको भने अनुसार गर्ने हो ।’

उक्त विज्ञापनको सुधार हुने पनि उनले बताइन् । उनले दर्शकको प्रतिक्रियालाई असाध्यै सकारात्मक रूपमा लिएको र आफ्ना हरेक क्रियाकलापलाई चासोका साथ हेरेर सुधार्ने मौका दिनुभएको भन्दै आभार व्यक्त गरेकी छिन् । 

उनले अन्तिममा लेखेकी छिन्, ‘कहिलेकाहीँ हाँस्नु पनि पर्छ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!