एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

Posted on: 03 Aug, 2016

साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसके पनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं ७ खुल्ला दिसामुक्त बन्न नसक्दा भोजपुर खुल्ला दिसामुक्त बन्न नसकेको हो । 

भोजपुर नगरपालिकाअन्तर्गत सदरमुकामको मुख्य बजार पर्ने वडा नं ७ लाई पटक–पटक खुल्ला दिसामुक्त बनाउने प्रयास गरिएपनि अझै सम्भव भने भएको छैन । नगरपालिकाले वडा नंं ७ लाई तीनपटकभन्दा बढी खुल्ला दिसामुक्त घोषणाका लागि समय तोक्दै, सार्दै गरेको छ । पछिल्लो समय नगरपालिकाले भदौ १५ गतेभित्र खुल्ला दिसामुक्त बनाउने नयाँ मिति तय गरेको छ तर सो मितिमा पनि खुल्ला दिसामुक्त बन्न सक्ने अवस्था देखिएको छैन । 

करिब एक हजारभन्दा बढी घरधुरीको बसोबास रहेको वडा नं ७ मा अझै २१० घरभन्दा बढीले चर्पी बनाउन बाँकी नै रहेको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत तुलराज थापा मगरले जानकारी दिनुभयो । 

भोजपुर नगरपालिकाका अन्य वडा भने जेठभित्रै खुल्ला दिसामुक्त बनिसकेका छन् । वडा नंं ७ मा पर्ने अधिकांश घरमा चर्पी भएपनि खोल्सा तथा खोलामा मिसाइएका कारण खुल्ला दिसामुक्त बनाइन नसकिएको हो । 

वडा नं ७ मा रहेका घरबाट निकास गरिएको चर्पीको ढल जनसेवा निमावि आसपासको खोल्सा तथा बरबोट बजार आसपासको खोल्सामा मिसाइएको छ । मुख्य बजारको ढल खोला तथा खोल्सामा मिसाइएपछि सदरमुकाम आसपासमा निकै दुर्गन्ध फैलिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!