सिरहाका २२ गाविस खुल्ला दिसामुक्त

Posted on: 18 Nov, 2016

मङ्सिर ३, लहान । सिरहा जिल्लाका गाउँगाउँमा यतिबेला शौचालय निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सिरहा जिल्लालाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने उद्देश्यका साथ हालसम्म जिल्लाका २२ वटा गाविस खुल्ला दिसामुक्त घोषणा भइसकेको जनाइएको छ । 

घरघरमा शौचालयको पहुँच पु¥याएर खुल्ला दिसामुक्त घोषणा गर्ने योजनाअनुसार कुल ६३ गाविसमध्ये हालसम्म २२ वटा गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानका प्रमुख राजेश कुशवाहाले जानकारी दिनुभयो । घोषणा गर्न बाँकी ४१ वटा गाविसमा पनि तीव्ररुपमा शौचालय निर्माणको काम भइरहेको प्रमुख कुशवाहाले बताउनुभयो । 

सिरहाका विभिन्न नगरपालिकाका १४ वटा वडा खुल्ला दिसामुक्त घोषणा भइसकेको र जिल्लाको तुलसीपुर, पिप्रा प्रपी, सीतापुर प्रध, खुरकियाँही, डुमरी, महनौर र बेला गाविस तथा सिरहा नगरपालिका—१४ खिरौना, सुखीपुर नगरपालिका–४ र गोलबजार नगरपालिका–१ मुक्सारलाई मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी भइरहेको प्रमुख कुशवाहाले जानकारी दिनुभयो । 

सरसफाइको दृष्टिकोणले नेपालको ७४औँ स्थानमा रहेको सिरहामा शौचालयको पहुँचसँगै सरसफाइको अवस्थामा सुधार आएको छ । शौचालय निर्माण अभियान सुरु हुँदा सिरहामा शौचालयको पहुँचमा २१.२ प्रतिशत घरधुरी रहेकामा हाल ६७ प्रतिशतमा शौचालयको पहुँच पुगेको जिल्ला खानेपाली तथा सरसफाइ डिभिजन कार्यालय, लहानका इन्जिनियर कृष्ण साहले बताउनुभयो । 

सन् २०१५ भित्र खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य राखिए पनि गत वर्षको मधेस आन्दोलनका कारण प्रभावित भएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!