पोल्याण्ड र पोर्चुगलको सपना देखाएर एजेन्ट सुनिल भण्डारीले झुलाए...

Posted on: 01 Mar, 2023

शान्ति श्रेष्ठ । फागुन १७, काठमाडौँ । खोटाङका अमृत खड्काको वैदेशिक रोजगारमा जाने चाहना अझै पुरा भएको छैन । वैदेशिक रोजगारमा पठाउन सक्रिय टोखा घर बताउने एजेन्ट सुनिल भण्डारीसँग गत बर्ष पुस महिनामा पीडित खड्काको भेट भएपछि आफ्नो दिन बिग्रिएको खड्का बताउँछन् । यस्तो समस्या भोग्ने पीडित अमृत खड्का एक प्रतिनिधि पात्र मात्र हुन् । यस्तै प्रकृतिको घटना पछिल्लो समय बढ्दै गएको छ । 

सुरुवातमा एजेन्ट भण्डारीले वैदेशिक रोजगारको क्रममा ८ लाख लाग्छ दुई महिनामै भिसा आउँछ भन्दै पीडित खड्का र उनका अर्का एक साथीबाट दुई लाख ७५ हजार रकम अशुलेका थिए । तीन महिना भित्र पोल्याण्ड पठाइदिने प्रलोभनको कारण बैंकिङ मार्फत एजेन्ट भण्डारीको खातामा पैसा हालेको पीडितको भनाई छ । तीन महिना बित्यो तर कुनै खबर आएन । पैसा अशुली गरेर पटक-पटक सम्पर्कमा रहँदा अवैध अशुलीमा संलग्न भण्डारी पटक-पटक समय थप्दै झुलाए । 

पहिलो पटक रकम अशुली गरेर झुलाएका भण्डारीसँग पीडितको ८ महिनापछि भेट भयो । भेटपछि एजेन्ट सुनिल भण्डारीले आफूले पहिले भनेको ठाउँमा काम नहुने भन्दै पोर्चुगल पठाइदिने बहाना बनाए । एजेन्ट भण्डारीले दुई महिना भित्र १७ लाखमा पोर्चुगल पठाउने भन्दै पीडित खड्कालाई विश्वास दिलाए । त्यसपछि वर्क परमिट आएको भन्दै पुन: डेढ लाख असुली गरे । अशुलीको क्रममा एजेन्ट भण्डारीले गौरी कार्कीको 1302022475552401 नम्बरको खाता नम्बर दिएको पाइएको छ । खड्काका अनुसार आफ्नो दुतावास सेटिङ रहेको भन्दै एजेन्ट भण्डारीले विश्वास दिलाएका थिए । 

तश्वीरमा: भण्डारीले म्यानपावरको अनुमतिबिना अवैध प्रयोग गरेको भिजिटिङ कार्ड र पीडितलाई दिएको बाउन्स चेक ।  

सुरुमा नासा ह्युमन रिसोर्स भन्ने म्यानपावरमा आफू आवद्ध रहेको बताउने एजेन्ट भण्डारी पछि मन्सुर म्यानपावरमा भेटिएको पीडितको भनाई छ । ठगिएपछि भने म्यानपावरले आफूलाई म्यानपावर भित्र समेत पस्न नदिएको पीडितको भनाई छ । पोल्याण्ड र पोर्चुगल पठाउने भन्दै अग्रिम अशुली गरेका एजेन्ट भण्डारीले पीडितलाई बाउन्स चेक समेत दिएर हाल पीडितसँग बिभिन्न बहानाबाजी गर्दै झुलाईरहेका छन् । 

पटक-पटक पैसा दिने भन्दै झुलाउने गरेका भण्डारीले नासा ह्युमन रिसोर्स प्रा लिको भिजिटिङ कार्डको समेत दुरुपयोग गरेको पाइएको छ । नासाका संचालक यूवराज गुरुङले यस सम्बन्धमा पत्रिकामा समेत भण्डारीसँग कोहि कसैले कारोबार गरेको भए आफ्नो म्यानपावर जवाफदेही नहुने भन्दै छापेको बताए । 

वैदेशिक रोजगार क्षेत्रका धेरै पक्ष चाहेर पनि सुधार गर्न नसकिने अवस्थामा रहेको गुरुङको भनाई छ । म्यानपावर क्षेत्र अनाधिकृत एजेन्टहरुको कारण बदनाम हुँदै गएको उनले बताए । 

पछिल्लो समय व्यक्तिगत रुपमा बिभिन्न देशमा रोजगारमा पठाईदिने बहाना बनाई अनाधिकृत अशुलीको घटना बढ्दै गएको छ । व्यक्तिगत रुपमा व्यवहार चलाउनको लागि पैसा आवश्यक पर्दा समेत ठगि नियत भएकाहरुले बिभिन्न देशमा पठाइदिने प्रलोभन देखाई अशुली गर्ने र लामो समय झुलाउने गरेका घटना बढ्दै गएका छन् । विशेष गरि युरोपको सपना देख्नेहरु यस किसिमको ठगिको सिकारमा पर्ने गरेको पाइएको छ । यस किसिमको व्यवहार नियन्त्रणमा सम्बन्धित निकायले अनदेखा गर्दा युवाहरुको समय र पैसा दुवै डुब्ने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!