कतार जाने नेपालीको संख्या ५० प्रतिशतले घट्यो

Posted on: 27 Feb, 2023

फागुन १५, काठमाडौँ | कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै गिरावट आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए । अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको हो । 

वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति लिनेको संख्या भने विगतको तुलनामा ७० प्रतिशतले कमी आएको छ । कार्यालयको कतार शाखा प्रमुख सुर्य रेग्मीले विगतको तुलनामा अहिले श्रम स्वीकृति लिनेको संख्या ७० प्रतिशतले कमी आएको बताए । 

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत साउनमा ४ हजार ९६९ जनाले श्रम स्वीकृति लिएका थिए । त्यस्तै भदौंमा ४ हजार ९८४ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए । भने असोजमा ४ हजार ५८६, कात्तिकमा ४ हजार ३१३ जनाले श्रम स्वीकृति लिएका थिए ।  त्यसपछिबाट भने श्रम स्वीकृति लिनेको संख्या आधाले घटेको देखिन्छ । मंसिरमा २ हजार ६६५ जनाले कतार जानका लागि श्रम स्वीकृति लिएका थिए । त्यस्तै पुसमा २ हजार ५०६ र माघमा २ हजार ८२९ जनाले श्रम स्वीकृति लिएका थिए । 


कतारमा अहिले कम्पनीहरूले धमाधम कामदार कटौती गर्न थालेको त्यहाँ रहेका नेपालीहरूले बताएका छन् । विगत ८ वर्षदेखि कतारमा रहेका बुटवलका प्रदिप भुसालले अहिले कतारमा निकै सुनसान भएको बताए ।  ‘पहिलो त धमाधम काम पाइन्थ्यो । जस्तो भन्यो त्यस्तै कम्पनीमा काम गर्न सकिन्थ्यो । अहिले त पुरै सुनसान छ । कम्पनीहरूले धमाधम कर्मचारी कटौती गर्न थालेका छन् ।’ उनले भने । 

काम दिन नसकिने भन्दै कम्पनीहरूले धमाधम घर फर्किन भनिरहेका छन् । कतारमा पछिल्लो समय काम परिवर्तन पाइन्छ । अनलाइनबाटै कुनै अर्को कम्पनी चेन्ज गरेर काम गर्न सकिने अवस्था हुन्छ । र अध्यागमन विभागले सजिलै नयाँ कम्पनीले अद्यावधिक गराईदिन्छ । नत्र अन्य देशको जस्तै कम्पनी चेन्ज गर्न नपाउने भए धेरै नेपाली तथा विदेशी कामदार घर फर्किनुपर्ने अवस्था आउने थियो । 

झापाका रमेश माझीले अहिले कम्पनीले घर फर्किनुपर्ने सूचीमा आफ्नो नाम समेत राखेको बताए । तर, उनले घर फर्किनुको सट्टा २२ सय रियाल (७७ हजार नेपाली रूपैयाँ) तिरेर कम्पनी चेन्ज गरेका छन् । चेन्ज गरेको कम्पनीमा पनि सोचे अनुसार ड्यूटी पाउन सकेका छैनन् । ‘हप्तामा २ दिन काम दिइरहेको छ । अब यता पनि राम्रोसँग काम गर्न सकिएला जस्तो छैन् । २२ सय रियाल तिरेर कम्पनी चेन्ज गरेर बेकार भयो । त्यो भन्दा त घर फर्किनुपर्ने रहेछ’ उनले भने । 

१०० जना काम गर्ने उनको पुरानो कम्पनीमा अहिले २० जना मात्रै राखेको छ । बाँकीलाई स्वदेश जाउँ भनेर पठाएको थियो । त्यही कारणले उनले कम्पनी चेञ्ज गरे । तर, नयाँ कम्पनीले पनि घर जाउँ भनिरहेको छ ।  १० औं हजार कामदार रहेका ठूल्ठूला कम्पनीहरूले समेत अहिले अत्यधिक मात्रामा कामदार कटौती गर्न थालेका छन् । कतिपय कम्पनीहरूले विश्वकप कतारको समापनसँगै श्रमिकहरूलाई विकल्प खोज्न भनिसकेका थिए ।  

कम्पनीहरूले कतिपय कामदारहरूलाई जगेडाको रूपमा समेत राख्ने गरेको माझीको भनाई छ । ‘कम्पनीले घर जाउँ पनि भनेको छैन् । काममा आउँ पनि भनेको छैन् । कोठामै बसिरहेका छन् । कुनै दिन काममा बोलाउँछ । के गर्ने के गर्ने भनेर धेरै साथीहरू विचल्लीमा परेका छन् ।’ उनले भने ।  कतिपय कम्पनीले तल्लो तहका लेबरहरूलाई तलब दिएका छन् । तर, माथिल्लो तहका कर्मचारीहरूले भने तलब समेत पाउन सकेका छैनन् । पछिल्लो समय कतारस्थित नेपाली राजदूतावासमा श्रमिकहरूले यस्तै खालका गुनासा लिएर जाने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!