श्रममन्त्रीज्यू, कारवाही श्रीष्टि ओभरसिजबाटै सुरु गरौँ !

Posted on: 18 Jan, 2023

अनिल अधिकारी । मंगलबार सपथ लिएका श्रममन्त्री डिपी अर्याल पुर्व म्यानपावर व्यवसायी वा एजेन्ट भएको प्रमाण सहित बिभिन्न संचार माध्यममा समाचार आए । त्यसलाई पुष्टि गर्ने आधार सम्बन्धित म्यानपावर कम्पनीको आधिकारिक वेबसाइट थियो । समाचारहरु आएलगत्तै उक्त वेबसाइट नखुल्ने बनाइएको छ । 


वेबसाइट अनुसार उक्त म्यानपावरको ग्रुप फोटोमा मन्त्री अर्यालको तश्वीर स्पष्टनै छ । त्यसो त संचालकहरुसँग बसेर खिचाएको फोटो पनि वेवसाइटबाटै लिईएको हो । यति मात्र होइन, उक्त वेबसाइट अनुसार मन्त्री अर्याल उक्त म्यानपावरको अन्तराष्ट्रिय बजार निर्देशक समेत हुन् । 




माथिको तश्विरहरु: म्यानपावरको आधिकारिक वेबसाइट http://soes.com.np (हाल नखुल्ने बनाइएको छ) बाट स्क्रिनसट लिईएको हो ।

माथिको तश्विर: गुगलमा म्यानपावरको नाम सर्च गर्दा भेटिएको हो ।

अब यहाँ मन्त्री अर्यालले आज (बुधबार) सामाजिक संजालमा दिएको स्पष्टिकरणको कुरा आउँछ । आफ्नो बिषयमा समाचार आएसंगै मन्त्री अर्यालले स्पष्टिकरण दिंदै आफू कुनै म्यानपावरमा संलग्न नरहेको दावी गरेका छन् । उनको यो दावीलाई मान्ने हो भने माथिका फोटो प्रमाणहरुलाई पनि नमान्न पर्ने हुन्छ । अर्को कुरा उक्त प्रमाणलाई नमान्नको लागि कि त उक्त वेबसाइटनै म्यानपावरको होइन भन्ने कुरा मान्य हुनुपर्छ । यदि साच्चै उनको संलग्नता उक्त म्यानपावरसंग थिएन तर उनको तश्वीर र उनलाई गलत रुपमा उनको अनुमति वा संलग्नता बिना म्यानपावरले आफ्नो आधिकारिक वेबसाइटमा विवरण राखेको हो भने उक्त म्यानपावरलाई नै कारवाही गर्नुपर्ने हुन्छ । 

म्यानपावरमा एजेन्टहरुको बिगबिगी छ । अमुक पात्रहरुले वैदेशिक रोजगार क्षेत्र दुर्घन्धित बनाएका छन् । म्यानपावरले जो पायो त्यो व्यक्तिलाई पीआरओ नियुक्त गरेर वा आफ्नो म्यानपावरमा संलग्नता रहेको भन्दै बिजनेश कार्ड दिएर कयौं युवाहरु ठगीको सिकार भईरहेको अवस्थामा मन्त्री अर्यालले दिएको स्पष्टिकरण र मिडियाले पाएको सबुत प्रमाणबीच मेल खाएको देखिदैन । मन्त्री अर्यालको स्पष्टिकरणले मिडियामाथि बढी भ्रम छरेको भन्ने जस्तो प्रश्न उठेको छ । जबकी मिडियाहरुले उक्त म्यानपावरको वेबसाइटबाटै सबै विवरण जस्ताको तस्तै तानेर समाचार बनाएका छन् । त्यसो त मिडिया गलत थिए भने समाचार बाहिरिएसंगै उक्त म्यानपावरको वेबसाइट एकाएक किन बन्द गरियो ? भन्ने प्रश्नको विषय पनि छ । 

स्पष्टिकरणमा श्रम मन्त्री अर्यालले भनेका छन् - 'गरि खाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु।तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन। हो, साथीहरुले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौ है भनेर  "इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर" को पद लेखिदिए तर हटाईदिन भुले ।' म्यानपावरहरुको बेथिति यस्तै प्रकृतिका हुन्छन् । कतिपय म्यानपावरले आगामी फलानो दिन अन्तर्वार्ता भनेर राष्ट्रिय दैनिक मार्फत हजारौं युवाहरुलाई सूचना दिएर त्यो दिन अन्तर्वार्ता गर्न त भुल्छन् भने श्रीष्टि ओभरसिजले तपाइँको फोटो र विवरण हटाउन भुल्नु सामान्य कुरा होला । वैदेशिक रोजगारको सूचना प्रणाली dofe.gov.np मा गएर हेर्ने हो भने पनि त्यस्तै हालत छ । वैदेशिक रोजगार बिभागले आफ्नो आधिकारिक पोर्टलमा सबै म्यानपावरको विवरण राखेको छ । तर अधिकांश म्यानपावरले राखेको विवरण तथा फोन नम्बरहरु परिवर्तन भईसकको बर्षौं बित्दा पनि बिभागलाई पत्तो छैन । त्यसै विवरणमा फोन गर्दा कतिपय नम्बर परिवर्तन भई सकेका छन् भने कतिपयका संचालक भनि लेखिएका पात्रहरुले म्यानपावर छोडेको २/३ बर्ष भयो भन्ने सम्मको जवाफ दिने गरेका छन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार बिभागले केहि दिन अघि मात्र विवरण अध्यावधिक गर्न सूचना जारी गरेको अवस्था छ । जसको म्याद माघ २२ गतेसम्म छ तर अधिकांश म्यानपावरले बिभागको ताकेतालाई टेरेका छैनन् । उनीहरुको वेबसाइटमा पुराना विवरणहरु परिवर्तन हुनुत धेरै परको कुरा छ । म्यानपावरहरुले राष्ट्रिय दैनिक पत्रिकाहरुमा दिने कयौं बिज्ञापनमा समेत गलत सूचना दिएर भ्रम छरिरहेको वर्तमान अवस्थामा सरकार मुकदर्शक छ । सरकारले एजेन्ट चिन्दैन भनिएको देशमा सर्वव्यापी म्यानपावर एजेन्टको कब्जामा चलेका छन् । एजेन्टहरुले भोली विदेश लाने भनेर काठमाडौँ बोलाएको युवाहरु मध्येराति कुनै होटल कुना तिर वा त्यस्तै स्थानमा चर्को रकम तिर्न बाध्य बनिरहेका छन् । 

श्रममन्त्री अर्यालको सम्बन्धमा पनि यदि म्यानपावरमा आवद्ध नभई म्यानपावरले तश्वीर र नाम जोडेर सार्वजनिक पोर्टलमै राखेको भए उक्त म्यानपावर कारवाही गर्नुपर्ने देखिन्छ । म्यानपावरले आफ्नो विवरण अध्यावधिक नराख्दा श्रममन्त्री जस्तो व्यक्ति विवादमा तानिएको अवस्थामा यस्तै कयौं गल्तिले कयौंको डाटा सकिएको, भ्रमपूर्ण सूचनाले मोबाइलको रिचार्ज सिद्धिएको कुरा सामान्य मान्न सकिदैन । अब सामाजिक संजालमा मिडियाप्रति तितो पोख्नुको सट्टा यथार्थता जे हो त्यहि जानकारी दिएर आफूमाथि लागेको धुलो मेटाउन उपयुक्त हुन्छ । म्यानपावर व्यवसायी भएकै कारण श्रममन्त्री बन्न नपाउने भन्ने होइन, बन्न पाइन्छ । तर वैदेशिक रोजगारको तमाम बेथितिलाई एकाएक नियन्त्रणमा लिने रणनीति र त्यसै अनुसारको व्यवहार नभएसम्म तपाइँप्रति तेर्सिएको शंकाको औंला उस्तै अवस्थामा रहने देखिन्छ । अर्को कुरा म्यानपावर व्यवसायी भएकै कारण बदनाम हुने दिनको अन्त्य गर्न समग्र वैदेशिक रोजगार क्षेत्रको बेथिति सच्चिनुपर्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!