नयाँ बसपार्क स्थित अलफ्रेस्को पोलिक्लिनिक मार्फत ठगिए युवा (भिडियो सहित)

Posted on: 13 Jan, 2023

पुस २९, काठमाडौँ । गत शुक्रबार काठमाडौँ स्थित एक ट्रेनिङ सेन्टरबाट झन्डै एक हजार युवाको राहदानी बरामद भयो । लाल बहादुर लामा र रोशन न्यौपाने लगायत मिलेर चलाएको उक्त ट्रेनिङ सेन्टरबाट झन्डै आधा अर्व ठगि भएको आशंका गरिएको छ । सोहि गिरोहसँग अर्को एक मेडिकल सेन्टरको समेत मिलिमतो रहेको पाइएको छ । 


गोंगबु नयाँ बसपार्कस्थित अलफ्रेसको पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिमा बिहिबार पीडितहरुलाई पैसा बाडिरहेको अवस्थामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत शुक्रबार काठमाडौँकै बाँसबारी स्थित सी स्टार सिपिङबाट ठगिएका युवाहरुलाई गोंगबु नयाँ बसपार्कस्थित अलफ्रेसको पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर प्रालिले पठाएको र ठगि गिरोहका मुख्य योजनाकार लाल बहादुर लामासँग कमिसनको लोभमा गंगबु स्थित मेडिकल सेन्टरले सहयोग गरेको खुलेको छ । उक्त मेडिकलले आफूले बढी पैसा अशुलेकोले आफूमाथि पनि अनुसन्धान हुने डरले पीडितहरुबाट अशुली गरेको पैसा फिर्ता दिन थालेको पिडितहरुले बताएका छन् । उक्त मेडिकलले कतिपय ठगिएका युवाहरु मार्फत राहदानी र बढी पैसा लिएर ठगि नाइके लाल बहादुर लामालाई पठाएको पाइएको छ । साथै मेडिकल गरेको पैसा लिएर रिसिभ समेत नदीई उनै लाल बहादुर लामालाई पठाएको खुलेको छ । 

तश्वीरमा: ठगीमा संलग्न मुख्य दुई जना !

तश्वीरमा: वैदेशिक रोजगार बिभागमा आफ्नो राहदानी लिन पुगेका पीडितहरु ।

प्रहरीले बिहिबार मेडिकल सेन्टरमा बसेर ठगि गिरोहलाई सहयोग गरिरहेको गुनाशोको आधारमा उक्त मेडिकल सेन्टरबाट एक महिला सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लागेको छ । यता वैदेशिक रोजगार बिभागमा भने गत साता बरामद भएको झन्डै एक हजार थान राहदानी पीडितहरुलाई बाड्न भ्याई-नभ्याई छ । बिभागमा सोहि गिरोहले ठगेको बिषय लिएर उजुरी दिन जानेहरुको समेत उत्तिकै चाप छ । बिभागले अहिले ठगिएकाहरूको नामावली र ठगि भएको रकम सम्बन्धि विवरण सहितको प्रमाणहरु संकलन गरिरहेको छ । सबै विवरणलाई अध्यावधिक गरि थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइने बिभागले जनाएको छ । 


पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवाहरुसँग म्यानपावरमा भन्दा बढी ट्रेनिङ सेन्टर, मेडिकल सेन्टर, अभिमुखिकरण तालिम केन्द्र तथा एजेन्ट अखडाहरु खडा गरि अग्रिम अशुली र राहदानी समेत संकलनको क्रियाकलाप बढेको पाइएको छ । सम्बन्धित निकायले तदारुकता नदेखाउदा ठगिनेहरुको उजुरी र गुनाशोहरु समेत बढ्दै गएको अवस्था छ ।

भिडियो हेर्नुहोस्: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!