वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या २२२.८ प्रतिशतले वृद्धि

Posted on: 16 Sep, 2022

भदौ ३१, काठमाडौँ | चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन महिनामा ४४ हजार ५४० जनाले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।


अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यो संख्या २२२.८ प्रतिशतले बढी हो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या साउन महिनामा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।

नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमा नेपाल भित्रने रेमिट्यान्समा २०.३ प्रतिशतले वृद्धि भई ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १७.४ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । -राजधानी दैनिकबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!