वैदेशिक रोजगारीमा जानेलाई तालिम दिएर मात्र पठाउन माग

Posted on: 11 Sep, 2022

भदौ २६, काठमाडौँ । नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले तालिममा एकरूपताका कायम गर्न आग्रह गरेको छ । 

अहिले विभिन्न तरिकाले सञ्चालन भएका तालिमका कार्यक्रम एक द्धारमार्फत गर्न महासङ्घले आग्रह गरेको हो । तालिम कार्यक्रम एक द्धारमार्फत पूर्णरुपले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) वा सम्बन्धित निकायमा आबद्ध संस्थामार्फत मात्र सञ्चालन गरिनुपर्ने महासङ्घको माग छ । 

नेपालमा अहिले उपलब्ध जनशक्तिसँग भएको सीपको प्रभावकारिताको विश्लेषण गरेर वर्तमान बजारको माग र भविष्यमा आवश्यक पर्ने दक्ष जनशक्तिको प्रक्षेपण तथा आवश्यकताअनुसार योजना बनाइ कार्यान्वयन गर्नुपर्ने महासङ्घले माग अघि सारेको छ ।

तालिम नभई रोजगारीको सिर्जना गर्न नसकिने उल्लेख गर्दै विदेश जानेहरू पनि दक्ष नबनी जाँदा न्यूनतम पारिश्रमिक लिन बाध्य भएको महासङ्घको ठहर छ ।

तालिम लिएर र दक्ष भएर जानेले राम्रो कमाउने गरेको भन्दै महासङ्घले अनिवार्यरुपमा तालिम दिएर मात्रै दक्ष जनशक्ति तयार गरी विदेश पठाउन सम्बन्धित निकायसमक्ष आग्रह गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!