रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

Posted on: 22 Jun, 2022

असार ८, काठमाडौँ | दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । 


छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । जसले गर्दा छनोट भई इजरायल जान तयार रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी गर्ने कार्य हुन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक डम्बर बहादुर सुनुवारले लामो समयसम्म पनि कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि कामदार पठाउन वैकल्पिक उपायको खोजी थालिएको बताए । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले समेत आवश्यक पहल गरिरहेको उनको भनाइ छ । 

‘लामो समय भयो नेपाली कामदार जान नपाएका । उनीहरू यतिबेला अन्योलमा छन् । नेपाल सरकारले कामदार लैजाने वैकल्पिक उपाय खोज्न आग्रह गरेका थियौँ,’ निर्देशक सुनुवारले भने, ‘अहिले पिवाले कसरी लैजान सकिन्छ ? भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल थाल्नुभएको जानकारी आएको छ ।’

वैकल्पिक उपाय के हुन्छ भन्ने विषयमा भने अहिले नै एकिन भइनसकेको उनको भनाइ छ । वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण एवं अन्य सरोकारवाला निकायहरु यथाशक्य चाडो अवरुद्ध प्रक्रिया सुचारु गर्ने विषयमा निरन्तर प्रयासरत रहेको उनको भनाइ छ । 

छनोटमा परेका कामदार अन्योलमा 

लामो समय हुँदा पनि छनोटमा परेका कामदार कहिले जाने भन्ने टुंगो नभएपछि अन्योलमा परेका छन् । उनीहरू न नेपालमै काम गर्न सक्ने अवस्थामा छन् न त कहिले लैजाने भन्ने टुंगो छ । 

नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भएको थियो । सोही आधारमा गत वर्षको असोजबाट कामदार छनोटको प्रक्रिया सुरु भई माघबाट कामदार लैजान थालिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!