मलेसिया रोजगार: आरबीए अन्तर्गत निशुल्क भनिएका डिमाण्डमा पनि म्यानपावरको छल-कपट

Posted on: 07 Jun, 2022

अनिल अधिकारी । जेठ २४, काठमाडौँ । मलेसिया रोजगार अन्तर्गत रेस्पोन्सिबल बिजनेस एलायन्स (आरबीए) मा आबद्ध रोजगारदाताले श्रमिकहरुलाई शून्य लागतमा मलेसिया रोजगारमा लैजाने प्रक्रियामा नेपालका म्यानपावरहरु पनि जोडिएर काम गर्दैछन् । पछिल्लो समय निशुल्क रोजगार, मध्यस्थकर्ता (एजेन्ट) प्रयोग नगरी सिधा म्यानपावर आउनु, छनौटको क्रममा भेदभाव गर्दैनौं भन्दै बिज्ञापन आईरहेका छन् । 

'आरविएसँग जोडिएका म्यानपावरहरुले मलेसिया जाने कामदारहरुसँग कुनै शुल्क लिंदैन । बरु कामदारले गरेको खर्चको रकम समेत फिर्ता दिन्छ ।' एक म्यानपावरका संचालकले साझा सबाललाई बताए । उनका अनुसार आरबिएसँग जोडिएका म्यानपावरले प्रति कामदार कम्पनीबाटै एक महिनाको आधा तलब कमिसनको रुपमा पाउँछन् । ति संचालककै बिषयलाई थप राख्नु पर्दा मलेसियामा इथिकल रिकुटमेन्टसँग जोडिएर कामदार पठाउने म्यानपावरले फोर्स लेवरको रुपमा कामदार लैजान पाउदैनन् । यसको मान्यता कुनै पनि कामदारलाई मलेसियामा रोजगारको लागि लैजादा देखि करार सकिएर स्वदेश फर्काउदा सहज वातावरण प्रदान गर्नु रहेको छ । यसरी मलेसिया जाने कामदारहरुले एजेन्टबिना सिधा म्यानपावरको माध्यमबाट आफ्नो कम्पनीसम्म पुग्न सक्छन् भन्ने दावी गरिएको छ । 

माथिको तश्वीर: आरविए अन्तर्गत डिमाण्डमा उल्लेख हुने केहि सूचनाहरु !

आरविएसँग जोडिएका म्यानपावरहरुको भनाईलाई आधार मान्ने हो भने अहिले मलेसियाको आरविए अन्तर्गत जोडिएका म्यानपावरहरुले एजेन्टबाट आएका कामदार लिनु हुँदैन र मलेसिया रोजगारमा पठाउँदा शुल्क लिन पाउदैनन् । 

त्यस्ता डिमाण्डमा कामदार सिधै म्यानपावर पुगेर मलेसिया रोजगारको लागि प्रक्रिया सुरु गर्न सक्छन् । यसरी प्रकृया गरेका कामदारहरुले निशुल्क सबै सेवा पाउँछन् । म्यानपावरले अशुल्ने कुरा त परको कुरा मेडिकल/बिमा गरेको पैसा समेत फिर्ता हुन्छ । यसरी जाने कामदारहरु कम्पनीमा समेत सुरक्षित हुने दावी गरिएको छ । 

यसअघि बिभिन्न म्यानपावरबाट मलेसिया पुगेर करार अवधि सकिदा समेत कम्पनीले स्वदेश फिर्ता नपठाएको, सम्झौता अनुसार तलव सेवा/सुविधा नदिएको लागायत समस्या हुने गरेकोमा आरविए अन्तर्गत जोडिएर मलेसिया जाने कामदारले बिभिन्न समस्या भोग्न नपर्ने म्यानपावरहरुको दावी छ । 

आरविएको मान्यता अनुरुप इथिकल रिक्रुटमेन्ट (न्यायोचित भर्ना) भईरहेको छ त ? 

पछिल्लो समय मलेसियामा निशुल्क रोजगारको अवसर भन्दै बिभिन्न म्यानपावरहरुले गरेको बिज्ञापनहरुमा सम्बन्धित म्यानपावरमै पुगेका तथा बिज्ञापन देखेर फोन मार्फत बुझेकाहरुले भने म्यानपावरले छलकपट गरेको गुनाशो गर्न थालेका छन् । बिज्ञापन हेरेर फोन गर्दा फोन रेस्पोन्स नगर्ने देखि डिमाण्ड पहिलेनै प्याक भईसकेको भन्ने प्रतिक्रिया पाईरहेको गुनाशोहरु आईरहेका छन् । युवाहरुको गुनाशोलाई प्रमाणीकरण गर्ने क्रममा साझा सबाल मिडियाले समेत केहि म्यानपावरलाई पछिल्लो केहि दिन यता कामदार बनेर सम्पर्क गर्दा डिमाण्ड ल्याएका केहि म्यानपावरले दिएको प्रतिक्रिया आरबिएको नीति बिपरित रहेको पाइएको छ । त्यसरी नीति बिपरित काम गर्नेहरुले डिमाण्ड अन्तर्वार्ता मिति अगावै प्याक भईसकेको भन्ने प्रतिक्रिया दिएका छन् । केहि म्यानपावरले भने बिज्ञापन दिएर निरन्तर फोन सम्पर्क गर्दा पनि फोन उठाएका छैनन् । 

माथिको तश्वीर: आरविए अन्तर्गत डिमाण्डमा उल्लेख हुने केहि सूचनाहरु !

छड्के बुझ्ने क्रममा अरबिए अन्तर्गत बिज्ञापन निकालेको एक म्यानपावर कम्पनीले मलेसिया स्थित कम्पनीका कर्मचारीले रेफर गरेकाहरुलाई मात्र उक्त डिमाण्डमा लैजानको लागि कामदार छनौट भएको बताए । उक्त म्यानपावरका कर्मचारीले दिएको स्पष्टिकरण यस्तो छ 'राम्रो कम्पनी भएकोले कम्पनीकै कामदारका आफ्ना मान्छेहरुले डिमाण्ड फुलफिल भईसकेको छ । त्यसैले डिमाण्ड हेरेर फोन गरेकाहरुलाई डिमाण्ड प्याक भएको बताइएको हो । नेपाल सरकारले ७ दिन अघिको सूचना अनुसार अनिवार्य बिज्ञापन गर्नुपर्ने बाध्यताको कारण मात्र बिज्ञापन पत्रिकामा आएको हो । आरबिए अन्तर्गत डिमाण्ड हो भने त्यसरी अन्तर्वार्ता अगावै सबैलाई समान अवसर नदीई कामदार छनोट गर्न पाइदैन । उक्त म्यानपावर मात्र होइन गत आइतबार, हिजो सोमबार र आज मंगलबार बिभिन्न म्यानपावरले सार्वजनिक गरेको डिमाण्डमा फोन गर्दा आरबिए आवद्ध म्यानपावरहरुले अवैध गतिबिधि भईरहेको संकेत दिएका छन् । बिज्ञापन गरेर अन्तर्वार्ताको मिति सार्वजनिक गरेर कामदारलाई रेस्पोन्स नदिने, म्यानपावरमै पुग्दा डिमाण्ड छैन भन्ने तथा अन्य बहानाबाजी गरिएको पाइएको छ । त्यसरी अवैधानिक रुपमा काम गर्नेहरुले मध्यस्थकर्ताको भूमिका नहुने, निशुल्क भिसा/टिकट, कसैले प्रलोभन देखाए हटलाइनमा फोन गर्नु भन्दै बिज्ञापन दिएर त्यहि व्यवहार फरक गर्ने गरेका छन् । यसरी नकारात्मक व्यवहार देखाउने म्यानपावरहरुले एजेन्ट वा अन्य प्रलोभनमा कामदारलाई प्रभावमा पारी पैसा अशुली गरेको आशंका गरिएको छ । 

आरविएसँग जोडिएका सबै म्यानपावरको समस्या उस्तै भने छैन । आरबिएसँग जोडिएको केहि म्यानपावर कम्पनीहरुमा साझा सबाल मिडियाले समेत भिजिट गरेको छ । त्यस क्रममा मलेसिया रोजगार अन्तर्गत आएका डिमाण्डहरुले केहि म्यानपावरहरुले राम्रो अभ्यासको सुरुवात समेत गरेका छन् । एजेन्टको प्रवेश नहोस् भन्ने उदेश्यले केहि म्यानपावरहरुले गम्भीर भएर काम गरिरहेको समेत पाइएको छ । म्यानपावर प्राङ्गढमा सबैले देख्ने गरि सुचना टास्नुको साथै एजेन्टबाट आएकोहरुलाई प्रवेश समेत नदिईएको पाइएको छ । त्यस्तै कामदारले सजिलै डिमाण्डबारे सूचना पाउन भन्नको लागि कामदारको पहुँचमा पुग्ने राष्ट्रिय पत्रिका देखि मोफसलको पत्रिका र वैदेशिक रोजगार मोबाइल एपमा समेत बिज्ञापन दिएका छन् । त्यसरी काम गर्ने म्यानपावरहरुले आरबिएसंग जोडिएर गलत क्रियाकलाप हुँदा त्यसको दोष आफूहरुलाई समेत आउने एक म्यानपावर व्यवसायीले बताए । उनले भने 'फ्रीमा कामदार पठाउछु भने पछि सबै निशुल्क डिमाण्ड मात्र लिनुपर्छ । अन्यथा आरबिएको निशुल्क अरुमा पैसा लिने कुरा आउँदैन । आरबीएले डिमाण्ड दिँदा म्यानपावरको चौतर्फी अनुगमन समेत गर्नुपर्छ ।'  


यस बिषयमा तपाइको प्रतिक्रिया...!