कम्पनीले तलब र खानसमेत नदिएपछि साउदीको दमाममा ६ नेपाली अलपत्र

Posted on: 18 May, 2022

जेठ ४, काठमाडौँ | साउदी अरबको दमाममा ६ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै शिवनारायण महतोले उद्धारका लागि अनुरोध गर्नुभएको छ ।

अलपत्र पर्नेमा मधेस प्रदेशका शिवनारायण महतो, ओम नारायण मण्डल, रामसिस मण्डल, नन्द किशोर मण्डल, इन्द्रदेव मण्डल र प्रभास यादव रहेका छन् । ८ महिनाअघि साउदी पुगेका उनीहरूले काम गरेबापत ४ महिनाको तलब पाएको र त्यसयता तीन महिनाको तलब कम्पनीले नदिएको बताएका छन् । साढे एक महिनादेखि भने खानासमेत नदिँदा भोक भोकै परेको पीडित शिवनारायण यादवले बताउनुभयो । 

unn.prixa.net

उनीहरू सबै जना काठमाण्डौको मेरिडियन म्यानपावर सर्भिस प्रालिबाट साउदी गएका हुन् । 

यस्तै साउदीमा रहेको नेपाली दूतावासले पनि साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको जनाएको छ ।

यो क्षेत्रमा कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरुव लगाइदिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको, कम्पनीले सम्झौता अनुसारको तलब र सेवा सुविधा नदिएको, काम गरेको समयको तलब पनि नपाएको समस्याहरू आइरहेको छ ।

यस्ता समस्या बढ्न थालेपछि दूतावासले साउदीमा रहँदा श्रमिकले गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा जानकारीका साथै साउदीको श्रम कानुन अनुसार पाउने हक अधिकारको बारेमा जानकारी दिन र दूतावासले प्रवाह गर्ने सेवाका बारेमा कार्यक्रम समेत गर्ने भएको छ ।

२० मे शुक्रबारका दिन अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसालिया, दमाममा दूतावासले कार्यक्रम गर्ने छ । समय भने बिहानको ७ बजेदेखि दिउँसोको ३ बजेसम्म तोकिएको छ  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!