अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन परराष्ट्रमन्त्री टर्की प्रस्थान

Posted on: 09 Mar, 2022

फागुन २५, काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो ।

टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । परराष्ट्रमन्त्रीले यही फागुन २८ गते मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरुको सहभागितामा  ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा  ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चको यस वर्षकोे विषय ‘रिकोडिङ डिप्लोमेसी’ रहेको छ । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।

आज मन्त्री खड्काले गैरआवासीय नेपाली सङ्घ टर्कीका पदाधिकारी र इस्तानबुलमा रहेका नेपाली उद्यमीसँग व्यवसायका अवसरहरू र चुनौतीहरूका साथै नेपाली समुदायले सामना गर्नुपरेका समस्याबारे छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

टर्कीमा रहँदा मन्त्री खड्काले आफ्ना समकक्षी, विभिन्न मुलुकका विदेशमन्त्री तथा उच्चपदस्थ व्यक्तिहरुका साथै इस्तानबुल र अन्तालियाका उद्योग वाणिज्य सङ्घका  सदस्यहरूसँग पनि छलफल  गर्ने कार्यक्रम छ ।

नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।

मन्त्री खड्कालाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा परराष्ट मन्त्रालयका निमित्ति सचिव सेवा लम्साललगायत मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । परराष्ट्रमन्त्री नेतृत्वको  प्रतिनिधिमण्डल  फागुन ३० गते स्वदेश फर्कने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!