यी हुन् पछिल्लो महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावरहरु

Posted on: 25 Feb, 2022

फागुन १३, काठमाडौँ । गत माघ महिनामा ६५४ म्यानपावर कम्पनीले ३० हजार बढी युवाहरुलाई वैदेशिक रोजगारमा पठाएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक विवरण अनुसार म्यानपावर कम्पनीहरुले ११ देशको लागि 

 दुई हजार २१४ महिला सहित ३० हजार जनालाई बिभिन्न देशमा वैदेशिक रोजगारमा पठाउनको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् । 

बिभागद्वारा सार्वजनिक माघ महिनाको विवरण अनुसार सबैभन्दा बढी कामदार पठाउने म्यानपावर एसओएस म्यानपावर सर्भिस रहेको छ । यो म्यानपावर कम्पनीले एकै महिनामा दुई जना महिला सहित ४१४ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । त्यस्तै दोश्रो नम्बरमा रहेको अक्सफोर्ड इन्टरनेशनलले चार महिला कामदार सहित ४११ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । तेस्रो नम्बरमा प्याराडाइज इन्टरनेशनलले १२९ जना महिला कामदार सहित ३६९ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । 

त्यसपछि क्रमश: फजल इन्टरनेशनल, साउण्डलाइन्स रिक्रुटमेन्ट, ओशो रिक्रुटमेन्ट एजेन्सी, सेन्ट्रल क्यापिटल सर्भिसेस, लक्की एचआर सोलुसन, लिंक इन्टरनेशनल प्लेसमेन्ट र नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिसेसले २५० जना भन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । 

त्यस्तै गत माघ महिनामा वैदेशिक रोजगार बिभाग आफैले पनि २९७ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । बिभागले इजरायलमा रोजगारको क्रममा १९५ जना महिला र १०२ जना पुरुष सहित २९७ जनालाई रोजगारको लागि अन्तिम श्रम स्वीकृति प्रदान गरेको छ । गत माघ महिनामा म्यानपावर कम्पनी मार्फत सबै भन्दा बढी धनुषा जिल्लाका युवाहरु वैदेशिक रोजगारमा गएका छन् । धनुषा जिल्लाबाट मात्र १९७५ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । धनुषा पछि सबैभन्दा धेरै महोत्तरीका युवाहरु वैदेशिक रोजगारको लागि गएका छन् । महोत्तरीबाट मात्र गत माघ महिनामा १५६१ जना युवाहरु वैदेशिक रोजगारमा गएका छन् । 

कोरोना महामारी यता सुस्त बनेको वैदेशिक रोजगार चलायमान भएसंगै वैदेशिक रोजगारमा जानेहरुको लहर बढेको पछिल्लो केहि महिना यताको तथ्यांकले देखाएको छ । गत माघमा साउदी अरेवियामा रोजगारको लागि जानेको संख्या धेरै छ । साउदी जानको लागि १४ हजार २१५ जनाले श्रम स्वीकृति पाउँदा कतारमा रोजगारको लागि पाँच हजार ९८६ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । गत महिना म्यानपावर मार्फत बहराइन, ब्रुनेई, साइप्रस, कुवेत, ओमान, कतार, रोमानिया, साउदी अरव, युएई र युनाइटेड किङ्गडमा रोजगारको लागि गएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!