कतारले हटायो क्वरेण्टीन र पीसीआर परीक्षणको नियम, यस्तो छ नयाँ मापदण्ड

Posted on: 25 Feb, 2022

फागुन १३, काठमाडौँ । कतारको स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्डबारे केहि परिमार्जन गरेको छ । परिमार्जित मापदण्डमा क्वरेण्टीन र पीसीआर परीक्षणको अनिवार्य नियम हट्ने भएको छ तर त्यसको लागि मापदण्ड भने तोकिएको छ । 

कतारले आगामी फेब्रुअरी २८ देखि लागू हुने गरी कतार यात्रा गर्ने यात्रुहरूका लागि स्वास्थ्यका मापदण्डमा परिमार्जन गरेको छ । कतारले परिमार्जन गरेको नयाँ मापदण्ड अनुसार खोपको मात्रा पुरा लगाएका कतारका नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पीसीआर परीक्षण गर्नु पर्ने र त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्नु पर्ने नियम हटेको छ । कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि लागू हुने छ । नेपालसहित बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई कतारले अहिले रातो सूचीमा राखेको छ ।

रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले यदि खोपको मात्रा पूरा लगाएका छन् वा कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्ने छैन । तर यदि खोपको मात्र पूरा लगाएको छैन या प्रतिरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन होम आइसोलेसनमा बस्न पर्नेछ । साथै उनीहरूले प्रस्थान पूर्व गर्नु पर्ने पीसीआर परीक्षण अनिवार्य गर्नु पर्नेछ ।

कोरोनाको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र -यापीड  एन्टिजेन परीक्षण भने गर्नु पर्नेछ । खोप नलगाएकाहरुले भने कतार पुगेको पहिलो दिनमा पीसीआर परीक्षण र ५ औं दिनमा -यापीड  एन्टिजेन परीक्षण गर्न पर्नेछ ।

कतारमा भिजिटरको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वरेण्टीनमा बस्न पर्ने छ । तर खोप नलगाएका भिजिटरलाई भने कतारले प्रवेश अनुमति दिने छैन । तर खाडी राष्ट्रका नागरिक भने पाँच दिन क्वरेण्टीनमा बस्ने सर्तमा कतार प्रवेशको अनुमति पाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!