काेरियाबाट माैसमी कामदारकाे माग, कार्यदल मार्फत तयारी गरिने

Posted on: 23 Feb, 2022

फागुन ११, काठमाडौँ । काेरियाबाट माैसमी कामदारकाे प्रस्तावित माग आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग स्थानीय तहका प्रमुखहरुले छलफल गरेका छन् ।

मन्त्रालयमा मंगलबार भएको छलफलमा स्थानीय तहका प्रमुखहरुले कोरियाका कम्पनीहरुले आफ्नो क्षेत्रका युवालाई मौसमी कामदारका रुपमा लैजान प्रस्ताव गरेको भन्दै त्यसको अवसर र चुनौतीबारे मन्त्री श्रेष्ठसँग चासो राखेका थिए । मन्त्री श्रेष्ठले सरकारी प्रक्रिया भन्दा बाहिरबाट सम्झौता गरी कोरिया कामदार पठाउन नहुने छलफलको क्रममा बताए । 

नेपालबाट कोरियामा कामदार आपूर्ति गर्नेबारे कोरिया र नेपाल सरकारबीच सरकारी स्तरको समझदारी भएको बताउँदै मन्त्री श्रेष्ठले मौसमी कामदार पठाउन पनि सरकारीस्तरबाट टुङ्गो लगाउनुपर्ने बताए । दक्षिण कोरिया, जापान, क्यानडा सहित विभिन्न युरोपेली देशका कम्पनीबाट पनि मौसमी कामदारको माग भएकोले त्यसबारे निर्णय लिन कार्यदलस्तरमा तयारी गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । हाल सरकारले वैदेशिक रोजगारीमा मौसमी रुपमा जान श्रम स्वीकृति दिने गरेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!