मलेसियामा रहेका नेपालीले पनि विद्युतीय राहदानी पाउदै, पहिलो दिनमै ३३ जनाले सेवा पाए

Posted on: 12 Feb, 2022

माघ २९, काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावसले जनाएको छ । 

मलेसियामा दुई लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा रहेका सरकारको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा रहेका श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरेर बुधबारदेखि कार्यक्रमको सुरुआत गरिएको दूतावासले जनाएको छ । राहदानी विभागबाट चौधरीको राहदानी प्रिन्ट गरेर सफलतासाथ परीक्षण गरिएको थियो । 

दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिको राहदानी नवीकरणका लागि लाइभ इनरोलमेन्ट गरेको थियो । एक साता सीमित सेवाग्राहीलाई अनलाइन ‘बुकिङ’का आधारमा सेवा प्रदान गर्ने र सोपश्चात नियमितरूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।

विद्युतीय राहदानी सुरुआत कार्यक्रममा नेपालबाट ‘भर्चुअल’ माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले सहभागिता जनाउनुभएको थियो । कार्यक्रममा मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत मोतीबहादुर श्रीषले सेवाग्राहीको चापलाई सहजरूपमा व्यवस्थापन हुने गरी सेवा प्रवाह केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विभागका महानिर्देशक अर्यालले मलेसियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रवाचक राहदानी जारी नहुने बताउनुभएको दूतावासले जनाएको छ । यसअघि कतारको दोहास्थित नेपाली दूतावासले पनि गत आइतबारदेखि राहदानी नवीकरणको लाइभ इनरोलमेन्टको सुरुआत गरेको थियो ।

मागपत्र प्रमाणीकरण सुरु

कोरोना सङ्क्रमण ओरालो लाग्दै गरेपछि दूतावासले मागपत्र प्रमाणीकरणसम्बन्धी सेवा सुरु गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न भन्दै मलेसिया सरकारले सन् २०२० को मार्चदेखि लागू गरेको आवागमन नियन्त्रण आदेशपश्चात दूतावासले मागपत्र प्रमाणीकरण बन्द गरेको थियो ।

मागपत्रसम्बन्धी कागजपत्र प्रमाणीकरणको काम मङ्गलबार, बुधबार र बिहीबार हुने दूतवासले जनाएको छ । मागपत्रसम्बन्धी कागजात भने सोमबार नै दूतावासमा बुझाउनुपर्ने छ । मागपत्रसम्बन्धी कागजात पेश गर्नुअघि दूतावासले उपलब्ध गराएको अनलाइन फारम भरेर पेश गर्ने समय लिनुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!