हिमालय एयरलाइन्सको गैरजिम्मेवारी: साउदीमा १५० बढी यात्रु अलपत्र, उडान अनिश्चित

Posted on: 11 Feb, 2022

माघ २९, काठमाडौँ । हिमालय एयरलाइन्सको गैरजिम्मेवारीको कारण नेपाल आउन लागेका यात्रूहरु साउदीस्थित बिमानस्थलमै अलपत्र परेका छन् । पूर्वसूचना समेत नदिईएको कारण साउदीस्थित हमाद इन्टरनेशनल एयरपोर्टमै पुगेका यात्रूहरु अलपत्र परेका हुन् । 

हिमालय एयरलाइन्स मार्फत रियाद-काठमाडौँ उडानको तय भएकोमा सबै तयारी सहित एयरपोर्ट पुगेकाहरु नेपाल आउन नपाएकोमा आक्रोशित भएका छन् । एयरलाइन्सको लापरवाहीको कारण यस्तो अवस्था आएको यात्रूहरुले बताएका छन् । अन्तिम अवस्थामा उडान नहुने भएपछि १५० बढी यात्रुहरुको टिकटको पैसा फिर्ता गरिएको छ तर उडानको सबै तयारी सहित साउदीको बिभिन्न स्थानबाट उडानको लागि एयरपोर्टसम्म आएकाहरुको आउने जाने भाडा तथा पिसिआर परीक्षणको शुल्कको समेत वेवास्ता भएको पीडित यात्रूहरुले बताए । पीडितहरुले बिमानस्थल आते-जाते खर्च र पिसिआरको शुल्क समेत एयरलाइन्सले फिर्ता गर्नुपर्ने माग छ ।


बिमानस्थलसम्मनै आईपुगेका यात्रूहरुलाई अन्तिममा आएर उडान नहुने जानकारी गराएर गैरजिम्मेवार बनेको हिमालय एयरलाइन्ससँग यस सम्बन्धमा जवाफ माग्न खोज्दा सम्बन्धित एयरलाइन्सका अधिकारीहरुले फोन उठाएका छैनन् ।

एयरलाइन्स गैरजिम्मेवार बनेको बिषयमा सामाजिक संजालमा बिभिन्न आलोचना भएका छन् । यस सम्बन्धमा साउदी स्थित दुतावासले समेत कुनै जवाफ दिएको छैन । 

यसैबीच एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण भन्दै अब साउदीको दम्माम र रियादबाट काठमाडौँसम्म जाने-आउने उडान नहुने सूचना जारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!