वैदेशिक रोजगारमा रहेका नेपालीलाई सेयर

Posted on: 04 Feb, 2022

माघ २१, काठमाडौँ । वैदेशिक रोजगारीमा गएका युवालाई सेयर दिने गरी ताप्लेजुङमा ७७ र ७० मेगावाटका दुई आयोजना बनाउने एचआईडीसीएलले तयारी गरेको छ । कम्पनीले यी आयोजना बनाउन दुईवटा कम्पनी समेत स्थापना गरेको छ । 

दुई आयोजना अन्तर्गत घुन्सा खोला र सिम्बुवा खोला रहेका छन् । एचआईडीसीएलको ५१ प्रतिशत सेयर रहने यी आयोजनामा विदेशमा रहेका नेपाली श्रमिकले २९ प्रतिशत सेयर पाउने भएका हुन् । त्यसबाहेक अरु सेयरमा आयोजना प्रभावित र सर्वसाधारणले लगानी गर्न पाउनेछन् । यो दुई आयोजना अघि बढाउन क्रमश रेमिट हाइड्रो लिमिटेड र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड स्थापना भएको एचआईडीसीएलका सीईओ अर्जुनकुमार गौतमले जानकारी दिएका छन् । गौतमका अनुसार  यी दुवै आयोजना अन्तर्गत निर्माण  अघिका सम्पूर्ण कामहरु सम्पन्न भैइसकेर वित्तीय स्रोत सुनिश्चितको काम सुरु भईसकेको छ । 

वैदेशिक रोजगारमा रहेका युवाहरुले पठाएको रेमिट्यान्सको सदुपयोगको लागि यी कम्पनीमा लगानी गर्न दिने तयारी रहेको र त्यसको लागि कसरी लगानी गराउने भन्ने कार्यविधि बनाई आइपीओ निस्कासन गरिने सीईओ गौतमको भनाई छ । वैदेशिक रोजगारमा गएकाहरुलाई सेयर लगानीको कोटानै छुट्टयाएर लगानीको अवसर दिनको लागि एचआईडीसीएलले वैदेशिक रोजगार बिभागसँग समन्वय गरेर काम अघि बढाउने जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!