समग्रमा वैदेशिक रोजगारीमा जाने घटे साउदीमा १७ हजार ७ सय, अरु कुन देशमा कति ?

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | समग्रमा वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ ।  मंसिर महिनाको तुलनामा पुस महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपाली कामदारको संख्या केही घटेको हो । संस्थागतरूपमा जाने नयाँ कामदारको श्रम स्वीकृति भने मंसिर महिनाको तुलनामा पुसमा केही बढेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको मासिक  प्रतिवेदन अनुसार पुसमा ३३ हजार १ सय ९३ जनाको श्रम स्वीकृति भएको छ । 

मंसिरमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत ३१ हजार ३१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । कात्तिक महिनामा म्यानपावर कम्पनीमार्फत २७ हजार ७ सय ९ जना कामदारले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए ।

पुसमा व्यक्तिगत प्रयासमा नयाँ १ हजार ७ सय २२ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैधानिक माध्यमबाट १ हजार ७८ जना, पुनः श्रम स्वीकृतिका माध्यमबाट ३० हजार ६ सय १२ जनाको श्रम स्वीकृति भएको छ । मंसिरमा पुनः श्रम स्वीकृतिको माध्यमबाट ३९ हजार ८ सय ७७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । 

समग्रमा पुस महिनामा ६६ हजार ६ सय २५ जनाको श्रम स्वीकृति भएको छ । मंसिरमा उक्त संख्या ६९ हजार ४ सय ४३ थियोे । विभागको प्रगति विवरण अनुसार पुस महिनामा ८ सय ५४ मध्ये ६ सय ५७ म्यानपावर कम्पनीले कामदार पठाउन श्रम स्वीकृति लिएका छन् । 

पुस महिनामा सबैभन्दा बढी साउदी अरबमा १७ हजार ७ सय ५ जनाको श्रम स्वीकृति भएको  छ । साउदी अरबपछि यूएई जानेको श्रम स्वीकृति भएको छ । यूएई जान ६ हजार ९१ जनाले श्रम स्वीकृति लिएका छन् । पुसमा कतार जान ५ हजार ७ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा संस्थागतरूपमा एक जनाको पनि श्रम स्वीकृति भएको छैन । 

अघिल्लो महिनामा जस्तै रोमानिया जाने क्रम पुसमा पनि देखिएको छ । रोमानियाका लागि २ सय १४ जनाको श्रम स्वीकृति भएको छ । ओमानका लागि ३ सय ६२ जना, कुवेतका लागि १ हजार ८ सय ३ जना, माल्दिभ्सका लागि १ सय ६२ जना, जोर्डनका लागि ४४ जना, साइप्रसका लागि २ सय ४७ जना, अष्ट्रियाका लागि ८ सय ३७ जना र रसियाका लागि ३० जना जनाले संस्थागत अर्थात् म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!