भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोडिने

Posted on: 18 Dec, 2021

पुस ३, काठमाडौँ | भारतमा रहेका नेपाली श्रमिकलाई वैदेशिक रोजगारमा जोड्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले भारतमा रोजगारीमा रहेका नेपाली कामदारको समस्या सम्बोधन गर्न अलग्गै नीति आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी दिवस, २०२१ को अवसरमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) द्वारा राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भारतमा लाखौंको संख्यामा रहेका नेपाली कामदार आप्रवासीको हैसियतले रहेको तर वैदेशिक रोजगार ऐनले त्यसलाई समेट्न नसकेको भन्दै नयाँ नीति आवश्यक देखिएको बताए ।

नेपाल सरकारले आप्रवासी कामदारहरुको हितलाई केन्द्रमा राखेर विद्यमान वैदेशिक रोजगार नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार नीति समय सापेक्ष बनाउन सरोकारवला र विज्ञहरुबाट सुझाव संकलन भइरहेको बताए । श्रम शक्ति अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको भन्दै मन्त्री श्रेष्ठले त्यसलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई  परिचालन गर्ने सरकारको नीति रहेको बताए । 

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, सरल तथा प्रतिफलमुखी बनाउन सरकारले नीतिगत तथा संरचनागत सुधार गरिरहेको भन्दै मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकहरुले भोगेका बहुआयामिक समस्याको तत्काल सम्बोधन गरिने बताए । 

व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र समृद्धि हासिल गर्ने बताउँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपालको अर्थतन्त्रलाई चलायमान बनाई गरिबी घटाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको जिकिर गरे । 

आर्थिक वर्ष २०५०/०५१ देखि २०७७/०७८ सम्म नेपालबाट ५६ लाख ६४ हजार श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । उनीहरूले पठाएको विप्रेषणले नेपालको अर्थतन्त्रमा ठुलो योगदान गरेको छ । 

मन्त्री श्रेष्ठले आप्रवासी नेपाली कामदारसहित विभिन्न मुलुकबाट नेपालमा काम गर्न आउने कामदारको संख्या पनि क्रमशः वृद्धि हुँदै गएकोले उनीहरुको हकहितको रक्षाका लागि समेत ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!