वैदेशिक रोजगारको लागत घटेन ! औषतमा एक लाख बढी !

Posted on: 15 Dec, 2021

मङ्सिर २९, काठमाडौँ | वैदेशिक रोजगारको लागत नघटेको नेपाल ट्रेड युनियन महासंघ जनाएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीका क्रममा लाग्ने सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्न सरकारलाई सुझाव दिएको छ। 

‘माइग्रेन्ट रिक्रुटमेन्ट एडभाइजर’ प्रयोगकर्ता श्रमिकद्वारा आफूले सेवा लिएका म्यानपावर कम्पनीको सेवा मूल्याङ्कनका सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै जिफन्टले रोजगारदाताले नै भर्ना शुल्क र खर्च व्यहोर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गरी न्यायोचित भर्ना प्रक्रिया अगाडि बढाउन सुझाव दिएको हो । 

अध्ययनमा सहभागी एक हजार ५ सय ९३ मध्ये ९८ प्रतिशत बढी व्यक्तिले आफूले चर्को भर्ना शुल्क तिरेको बताएका थिए । उनीहरुले औषत एक लाख रूपैयाँ  भर्ना शुल्क तिर्नुपरेको अध्ययनले जनाएको छ । अध्ययनमा संलग्न दुई प्रतिशतभन्दा कम व्यक्तिले आफूले कुनै पनि शुल्क तथा खर्च व्यहोर्नु नपरेको बताएका थिए ।     

सरकारले पछिल्ला केही वर्षयता वैदेशिक रोजगारीका क्रममा श्रमिकको भर्नाबापतको सम्पूर्ण लागत रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था गरेको छ । श्रमिक भर्नाको सम्पूर्ण लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने विषयलाई गन्तव्य मुलुकसँगको श्रम समझदारीमा समेटिएको छ । जोर्डन, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), मरिससलगायत मुलुकसँगको द्विपक्षीय श्रम सम्झौतामा सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने विषय उल्लेख गरिएको छ । श्रम सम्झौतामा भर्ना प्रक्रिया निःशुल्क बनाइने उल्लेख भए पनि वैदेशिक रोजगारीमा जाने श्रमिकले चर्को शुल्क तिर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!