वैदेशिक रोजगारीमा जाने यूवाहरुको संख्या बढ्दै !

Posted on: 14 Dec, 2021

मंसिर २८, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने युवाको संख्या दिनानुदिन बढ्दै गएको छ । वैदेशिक रोजगारीमा विभिन्न देश जानका लागि यहाँबाट पछिल्लो चार महिनाको अवधिमा एक हजार ७ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन परियोजना सामीका अनुसार गत साउनदेखि कातिकसम्मको तथ्यांक हेर्दा जिल्लाबाट वैदेशिक रोजगारीमा विभिन्न देश जानलाई १ सय ७ महिला र एक हजार ६ सय ८५ पुरुषले श्रम स्वीकृति लिएका छन् । 

सरकारले गत साउन र भदौमा गरेको लकडाउनयता पनि रोजगारीका लागि विदेश जान अत्यधिक संख्यामा श्रम स्वीकृति लिएको पाइएको हो । दश स्थानीय तह रहेको खोटाङमा वैदेशिक रोजगारीको सिलसिलामा ६० हजारभन्दा बढी नागरिक विभन्न देशमा पुगेका सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिए । 

मुलुकभरको तथ्यांक हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९औँ स्थानमा रहेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कहरबीच आर्थिक वर्ष २०७७/७८ मात्रै जिल्लाका एक हजार ९२८ नागरिक वैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!