मलेसियामा हालसम्मकै उच्च कामदारको माग ! ठूलो संख्यामा लैजाने सरकारको निर्णय !

Posted on: 11 Dec, 2021

मंसिर २५, काठमाडौं | मलेसियाले सबै क्षेत्रमा विदेश कामदार लैजाने निर्णय गरेको छ । शुक्रबार बसेको मलेसियाको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेकोे बताइएको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलिएपछि मलेसियाले सन् २०२० मार्च १८ देखि विदेशी कामदार भर्ना गर्न रोकेको थियो । मलेसियाले करिब दुई वर्षपछि विदेशी कामदारका लागि ढोका खोलेको हो ।

मलेसियाले यसअघि पहिलो चरणमा प्लान्टेशन भनिने रवर र पाम उद्योगमा मात्रै नयाँ विदेशी कामदार लैजान पाउने नीति लिएको थियो । शुक्रबार भएको नयाँ निर्णय अनुसार उत्पादन, सेवा क्षेत्र, कृषि, प्लान्टेशन र घरेलु कामदारको नयाँ भर्ना खुलाएको हो । 

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले नयाँ कामदार भर्ना खोल्ने मलेसियाको निर्णय यसअघि नेपालसँग भएको श्रम सम्झौता अनुसार मागपत्र प्रमाणीकरण गर्ने बताएको छ ।

नेपाली दूतावास मलिसियाका काउन्सिलर श्रम दिपक ढकालले नयाँ कामदारको एप्रुभल खुलेको विस्तृत जानकारी आउन नसकेको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर खुला गर्ने निर्णय भएको विभिन्न स्रोतबाट जानकारी आएको बताए ।

मलेसियाले शुक्रबार बंगलादेशसँग प्लान्टेशनसहित सबै क्षेत्रमा कामदार लिने सम्झौता गरेको बताइएको छ ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा सम्झौता भएको थियो । नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार नेपालबाट कामदार पठाउन लाग्ने सेवा शुल्क, दुईतर्फी  हवाई टिकट, भिसा तथा स्वास्थ्य परीक्षण शुल्क खर्च रोजगारदाताले व्यहोर्ने प्रावधान छ ।

सम्झौतामा कामदार पठाउने नेपाली म्यानपावर कम्पनीलाई मलेसियाका रोजगारदाताले सेवा शुल्क वापत कामदारले पाउने मासिक न्यूनतम तलबको ५० प्रतिशत रकम सेवा शुल्क दिनु पर्नेछ । यसका अतिरिक्त नेपालमा हुने स्वास्थ्य परीक्षण र सुरक्षा जाँचको खर्च रोजगारदाताले पहिलो महिनाको तलबमा फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!