कतारमा रहेका गैरकानुनी कामदारलाई जरिवाना बिना नै आममाफी

Posted on: 08 Oct, 2021

असोज २२ , काठमाडौँ | कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई  कैद र  जरिवाना नलिई आममाफी दिने भएको छ । कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा पुगेका कामदारलाई सरकारले कैद र  जरिवाना बिना नै आममाफी दिन लागेको कतारको आन्तरिक मन्त्रालयले जनाएको छ । 

कतारले २०१५ को कानून नं २१ को प्रावधान अनुसार आप्रवासीको निवास प्रवेश र गमनको नियम अन्तर्गत आममाफीको प्रक्रिया शुरु गरिएको बताएको छ । आममाफीका लागि सरकारले आगामी अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ ।

आममाफीका लागि अवैधानिक हैसियतमा रहेका विदेशी कामदारले कतार सर्च एण्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल, अल बक्रा र अल रयान सर्भिस सेन्टरमा र उम सुनैम, मेसाइमिरमा नाम दर्ता गराउनु पर्ने बताएको छ ।

कतारले आप्रवासी कामदारको अधिकार संरक्षणका लागि श्रम कानूनमा व्यापक रूपमा सुधार गरिरहेको बताउँदै आएको छ । तर कतारमा कार्यरत नेपालीका संस्था तथा स्वयं कामदारहरूले कम्पनीले समयमा भिसा नवीकरण नगरिदिएको, तलब सुविधा नदिएको र कम्पनी बन्द भएका कारण बाध्यतावश कम्पनी छाड्दा गैरकानूनी हैसियतले बस्नुपरेको बताएका छन् । 

कतारमा वैधानिकरूपमा झण्डै तीन लाख नेपाली कतारमा कार्यरत रहेको भएपनि अवैधानिक हैसियतले बसेका नेपालीको संख्या एकिन हुन नसकेको कतारस्थित नेपाली दूतावासले बताउँदै आएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!