वैदेशिक रोजगारीको कहर: कसैका शव, कसैका अस्तु आए

Posted on: 04 Oct, 2021

असोज १८, खोटाङ | वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । 

साउदी अरेबिया पुगेका हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारका मिलन दर्जी, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- ७ चिउरीडाँडाका नरेश बर्देवा, खोटेहाङ गाउँपालिका- ५ चिप्रिङका अनिल राई, हलेसी तुवाचुङ नगरपालिका- १० अर्खौलेका धनशेर राईको ज्यान गएको हो ।

यस्तै, मलेसिया पुगेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका- १४ बुइपाका ध्यानसिंह राई र रावाबेँसी गाउँपालिका- ६ हौँचुरका कृष्णकुमार राई, कतार पुगेका केपिलासगढी गाउँपालिका- ७ सुङदेलका छत्रे भुजेल र साकेला गाउँपालिका- ३ खिदिमाका कुलबहादुर खत्रीको मृत्यु भएको राईले बताए ।

दर्जीको २ असोज २०७७ मा मृत्यु भएको हो । २०७६ सालमा साउदीअरेबिया पुगेका बर्देवाको एक्कासि पेट दुखेर अस्पताल लैजाने क्रममा १३ मंसिर २०७७ मा मृत्यु भएको बताइएको छ । 

अनिलको भने कोभिडऔ १९ को संक्रमणका कारण मृत्यु भएको हो । प्रवासी नेपाली समन्वय समिति, दूतावासलगायतको पहलमा कतिपय मृतकको शव तथा कतिपयको अस्तु मात्र घर ल्याइएको कार्यक्रम संयोजक राईले बताए । चालू आर्थिक वर्षमा केपिलासगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको सामीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!