कोरोनाविरुद्धको लडाईं जित्दै कतार, प्रतिबन्धहरु फुकूवा

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ । कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबारबाट लागू हुने गरी प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । यहाँका स्थानीय समाचारमाध्यमका अनुसार सीमित क्षेत्रबाहेक अन्य अवस्थामा मास्क लगाउनु नपर्ने भएको छ ।

सरकारी निर्णयअनुसार मल, भिडभाड हुने स्थान, अस्पताल तथा विभिन्न सभा समारोह बाहेक मास्कको अनिवार्य प्रयोगलाई हटाइएको छ । फुड कोर्ट तथा होटेलहरू पचास प्रतिशत क्षमतामा खोल्न पाइने छ । सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीहरू कार्यालयमै गएर काम गर्न सक्नेछन् भने संग्राहलय तथा पुस्तकालय पूर्णरूपमा खुला हुने भएको छ ।

प्रार्थनाका लागि सबै मस्जिदहरू खुला हुनेछन् भने सामाजिक दुरी कायम गर्नु पर्ने छैन । रेल तथा सरकारी सवारी साधन, कम्पनीका बसहरूले ७५ प्रतिशतले यात्रु तथा कामदार बोक्न पाउने छन् भने निजी सवारी साधनमा परिवारबाहेक चालकसहित ४ जना मात्र चढ्न पाइनेछ । सार्वजनिक स्थलहरू क्रोनेच, विच तथा पार्कहरूमा कोरोनाविरुद्धका दुबै डोज लगाएकाहरू ३० जनासम्म भेला हुन पाइने निर्णयमा उल्लेख गरिएको छ । यस्तै तारे होटेलका हलहरूमा ५० प्रतिशत क्षमतामा मानिस जम्मा हुन पाइने छ । ७५ प्रतिशत क्षमतामा ड्राइभिङ स्कुलहरू खोल्न पाइने छ ।

कतारमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा कमी आएको छ भने खोप लगाउनेहरूको संख्या ८० प्रतिशतभन्दा माथि रहेको छ । कतारमा हालसम्म २३ लाख ६ हजार ५ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २३ लाख ४ हजार ६७१ जनाले कोरोनालाई जितेका छन् । कोरोनाका कारण कतारमा कुल ६ सय ५ जनाको मृत्यु भएको छ भने १२ सय ८२ जनाको उपचार जारी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!