इजरायल रोजगार: २ हजार ६९६ आवेदन अस्वीकृत, २८ गतेको परीक्षाको लागि १० नियम

Posted on: 08 Sep, 2021

भदौ २३, काठमाडौं | इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारको लागि जान आवेदन दिएकामध्ये २ हजार ६९६ जनाको आवेदन अस्वीकृत भएको छ । वैदेशिक रोजगार विभागले मंगलबारसम्म रुजु गरेर साउन १२ देखि ३२ गतेसम्म अनलाइन परेका आवेदनको रुजु गर्ने क्रममा ठूलो संख्यामा आवेदनहरु अस्वीकृति गरिएको हो । 

वैदेशिक रोजगार अन्तर्गत नेपाल सरकार र इजरायली सरकारबीच सम्झौता भए बमोजिम (जिटुजि) मोडलबाट रोजगारीमा पठाउनको लागि आगामी भदौ २८ गते लिखित भाषा परीक्षा हुँदैछ । जसको लागि स्वीकृत भएका ७ हजार ३ जनाले भाषा परीक्षामा सहभागी हुन पाउने भएका छन् । बिभागले अनलाइन आवेदन परेकाहरुको तोकिएको मापदण्ड तथा योग्यता नपुगेको कारण आवेदन अस्वीकृत गरेको जनाएको छ ।

आवेदन दिएकाहरु मध्ये तालिम नलिएका, सिएमए वा अनमीको योग्यता पूरा नगरेकाहरु धेरै छन् । बिभागले दिएको जानकारी अनुसार ७ हजारले इजरायल रोजगारको लागि ८० अंकको भाषा परीक्षामा सहभागी हुनेछन् भने त्यसको नतिजा दुई दिनमै दिने तयारी छ । प्राप्तांकको अधारमा एक हजार ६०० जना छानेर त्यसपछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता दिनुपर्नेछ । त्यसमध्ये १ हजार ४०० जना मात्र गोलाप्रथाको लागि छानिनेछन् । छानिएकाहरुको गोलाप्रथा नेपालस्थित इजरायली दुतावासले गर्नेछ । गोलाप्रथाबाट छानिने हुँदा ४०० जनाले इजरायल रोजगारीको अवसर नपाउने बिभागले जनाएको छ । 

बिभागका अनुसार २८ गते हुने भाषा परीक्षाको लागि काठमाडौं उपत्यकाका १६ वटा शैक्षिक संस्थामा परीक्षा केन्द्र तोकिएका छन् । अनलाइन आवेदन स्वीकृत भएकाहरुले https://ferms.dofe.gov.np मा गई आफ्नो युजर आइडी र पासवर्ड मार्फत लगइन गरि प्रवेशपत्र प्राप्त गर्न सक्छन् । जसलाई प्रिन्ट गरि तोकिएको परीक्षा केन्द्रमा परीक्षाको लागि जानुपर्नेछ । परीक्षा दिन तीन घण्टा अगावै जानुपर्ने र आफूसाथमा आफ्नो परिचय खुल्ने कागजपत्र समेत लिएर जानुपर्ने बिभागले जनाएको छ । 


बिभागले गोलाप्रथाबाट अन्तिम छनौट हुने हुँदा इजरायल रोजगारमा जान पाईने आशामा कुनै प्रकारको आर्थिक चलखेल नहुने बताउंदै आएको छ । बिभागले इजरायली पक्षलेनै गोलाप्रथा गर्ने हुँदा भाषा परीक्षा तथा अन्तर्वार्तामा सबैभन्दा अब्बल नम्बर ल्याउने व्यक्तिसमेत गोलाप्रथामा फालिन सक्ने हुँदा कसैले पनि इजरायल रोजगारमा जान ग्यारेन्टी गरेर चलखेल गर्न नसक्ने बताएको छ । 

बिभागका अनुसार भदौ २८ गते हुने परीक्षाको लागि उम्मेदवारहरुले निम्न नियमहरु १० नियम पालना गर्नुपर्ने छ । 

१) परीक्षा दिन आउँदा अनिवार्य रुपमा राहदानी सहित प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र विना परीक्षामा बस्न पाइने छैन ।

२) परीक्षा हलमा मोबाइल फोन ल्याउन पाइने छैन ।

३) लिखित परीक्षाको नतिजा प्रकाशन भएपछि शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने दिनमा पनि प्रवेशपत्र ल्याउनु आनिवार्य छ।

४) उम्मेदवारले परीक्षा दिएको दिनमा हाजिर अनिवार्य रुपले गर्नुपर्नेछ ।

५) विभागले सूचनाद्वारा निर्धारण गरेको कार्यक्रम अनुसार परीक्षा संचालन हुनेछ।

६) बिरामी भएको उम्मेदवारले परीक्षा हलमा प्रवेश गरी परीक्षा दिने क्रममा निजलाई केही भएमा विभाग जवाफदेही हुने छैन ।

७) परीक्षा शुरु हुनु भन्दा ३० मिनेट अगाडि घण्टीद्वारा सूचना गरेपछि परीक्षा हलमा प्रवेश गर्न दिइनेछ । वस्तुगत परीक्षा शुरु भएको १५ मिनेट पछि आउने उम्मेदवारले परीक्षामा बस्न पाउने छैन ।

८) परीक्षा हलमा उम्मेदवारले परीक्षाको मर्यादा विपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारवाही गर्नेछ र त्यसरी निष्काशन गरिएको उम्मेदवारको सो विज्ञापनको परीक्षा स्वतः रद्द भएको मानिने छ ।

९) परीक्षा हलमा प्रवेश गरेपछि किताब, कापी, कागज, चिट आदि आफू साथ राख्नु हुँदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुँदैन ।

१०) कुनै उम्मेदवारले प्रश्नपत्रमा रहेको अस्पष्टताको सम्बन्धमा सोध्नु पर्दा पनि परीक्षामा सम्मिलित अन्य उम्मेदवारहरुलाई बाधा नपर्ने गरी निरीक्षकलाई सोध्नु पर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!