इजरायल रोजगार: परीक्षा दिएको दुई दिनमै नतिजा, अबको एक महिना भित्रै छनौट

Posted on: 02 Sep, 2021

अनिल अधिकारी | भदौ १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि इजरायल जान आवेदन दिएकाहरूको लिखित परीक्षा २८ भदौमा सञ्चालन हुँदैछ । विभागका अधिकारीहरुले गत मंगलबारनै परीक्षा केन्द्रहरुको अनुगमन गरेका छन् । 

बिभागले गत १२ साउनदेखि २१ दिनको म्याद राखेर आवेदन खुल्ला गरेको थियो । सो अवधिमा आवेदन दिएकाहरूको लोकसेवा मोडलबाट लिखित परीक्षा हुनेछ । लिखित परीक्षाको प्रविधिबाटै परीक्षण हुने हुँदा दुई दिनमै नतिजा दिने बिभागको तयारी छ । 

इजरायलको लागि अनलाइन आवेदन दिएर आनलाइन आवेदनबाट छानिएकाहरुले आफ्नो परीक्षा केन्द्रको जानकारी, परीक्षामा सहभागी हुनको लागि प्रवेशपत्र र परीक्षा दिएपछि आउने नतिजा अंकभार सहित आफ्नै Username Password मार्फत जानकारी पाउन सक्नेछन् । 

बिभागका अनुसार इजरायलमा रोजगारको लागि बिभागले अनलाइन आवेदन दिन समय तोकेको अवधिमा ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । दरखास्त परेका मध्ये चार हजार २०० महिला र पाँच हजार ४९९ जना पुरुषहरु रहेका छन् । 

बिभागका अनुसार भदौ २८ गते दिनको १ बजेदेखि परीक्षा हुँदैछ, जसमा ४० प्रश्न सोधिनेछ । परीक्षा दिएपछि त्यसको परीक्षण (ओएमआर) कम्प्युटर प्रविधिबाट हुने र नतिजा दुई दिनमै सार्वजनिक गर्ने तयारी रहेको वैदेशिक रोजगार बिभागका निर्देशक कमल ज्ञावालीले बताए ।


ज्ञावालीका अनुसार भाषा परीक्षामा कोरोना महामारीको ख्याल राख्दै एउटा कोठामा २५ जनाभन्दा बढी नराख्ने र संक्रमितलाई छुट्टै कोठामा राखेर परीक्षा लिइनेछ । ज्ञावालीका अनुसार भदौ २८ मा ८० अंकको अंग्रेजी भाषाको लिखित परीक्षा हुने तथा त्यसको १० दिनभित्रै २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुनेछ । 

लिखित भाषा परीक्षा र अन्तर्वार्ताबाट एक हजार ४०० जनाको नामावली नेपाल स्थित इजरायलको दुतावासमा बुझाउने ज्ञावालीले बताए । जुन नामावलीबाट दुतावासले गोलाप्रथा गरि ७०० महिला र ३०० पुरुषहरु इजरायल रोजगारको लागि छनौट गर्ने ज्ञावालीले बताए । 

भिडियो हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!