इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा !

Posted on: 02 Sep, 2021

भदौ १७, काठमाडौं । इजरायलमा १० नेपाली लुकिछिपी बस्दा ५०० जनाको कोटा गुम्ने खतरा देखिएको भन्दै इजरायल स्थित नेपाली दुतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था - MASHAV द्वारा संचालित परियोजना "Learn & Earn" अन्तर्गत नेपालको साना किसान विकास वैंकबाट छनौट भई विभिन्न ५ वटा ईजरायली कृषि केन्द्रहरुमा ११ महिना अवधिको तालिम/अध्ययनका लागि ईजरायल गएका नेपाली विद्यार्थीहरुमध्ये १० जना सम्पर्क विहिन भएको भन्दै दूतावासको ध्यानाकर्षण भएको जनाएको हो ।

"देशको प्रतिष्ठालाई तिलाञ्जली दिँदै व्यक्तिगत स्वार्थ र लाभका लागि गैर कानूनी हिसाबले लुकिछिपी बस्ने कार्य अनैतिक भएकोमा कुनै सन्देह नहोला । २/४ जनाको वदमासीले गर्दा वार्षिक ५०० जनाको ढोका बन्द गरिनु अपराध हो । दूतावासबाट मौजुदा संख्यालाई बढाएर वार्षिक १००० पुर्‍याउने प्रयास भइरहेकोमा यी र यस्ता कारणहरुले गर्दा समग्र कार्यक्रम नै बन्द हुन सक्ने देखिन्छ।" दुतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।

हालसम्म Sedot Negev Agriculture Training Center बाट ४ जना, Ashkelon स्थित The External Studies Institute बाट २ जना, Kinneret स्थित कलेजबाट २ जना र Arava International Center for Agriculture Training बाट २ जना सम्पर्क विहिन भएका दुतावासले जनाएको छ । साथै, विद्यार्थी बाहेक रोजगारीका सिलसिलामा आएका/ल्याइएका अन्य केही पनि सम्पर्क विहिन भएको पाइएकोले उनीहरु सबैको खोजी भइरहेको दुतावासले जनाएको छ ।

सम्पर्क विहीन भएका मध्ये  केहीको पत्तो लागिसकेकोले प्रहरीको सहयोगमा पक्राउ गरी उनीहरुलाई यथाशक्य छिटो नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दुतावासले जनाएको छ।

सम्पर्क विहिन विद्यार्थी लगायत अन्य नेपालीहरुलाई तुरुन्त दूतावासको सम्पर्कमा आउन दुतावासले अनुरोध गरेको छ । सम्पर्कमा नआए आवश्यक कारवाहीको प्रक्रिया अगाडि बढाइने दुतावासको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!